पोखरा/ पर्यटकीय नगरी पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले सूक्ष्म अनुसन्धानमार्फत ४ विदेशी नागरिक र ६ जना नेपाली गरी ९ जनाको गिरोहलाई चोरीका विभिन्न बहुमूल्य सामान, सुन र नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने विदेशी नागरिकहरूमा भारत उत्तर प्रदेशको अशोकपुर (सतहा) विशेषरगंज बस्तीका २३ वर्षीय राहुल निषाद, चीनको गुइझोउका ३० वर्षीय वेन जी, चीनकै शानडोङका ३७ वर्षीय वाङ लियान्यिन र भारत महाराष्ट्रका ४० वर्षीय सोमनाथ हनुमंत जाधव रहेका छन् । त्यस्तै नेपाली नागरिकहरूमा स्याङ्जा चापाकोट–३ का ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्ण–७ का ५० वर्षीय राजु के.सी. भन्ने खिम बहादुर क्षेत्री, अर्घाखाँची भूमिकास्थान– ३ का २९ वर्षीय अशोक पोख्रेल, पोखरा–१६ दीपका ५१ वर्षीय केशब पाइजा मगर र बागलुङ–१२ का २७ वर्षीय अनिल बि.क. रहेका छन् ।
कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार पोखरा महानगरपालिकाभित्र दिनानुदिन चोरीका घटना बढेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । पक्राउ परेका गिरोहले पोखराका विभिन्न वडामा रहेका रैथाने तथा विदेशी नागरिकका घर र कोठालाई निसाना बनाउँदै आएका थिए । प्रहरीले उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।
यो गिरोहले गत असार महिनाभर पोखरामा निकै सास्ती दिएको खुलेको छ । उनीहरूले असार ४ गते छोरेपाटनस्थित शिव प्रसाद बरालको घरबाट आधा तोला सुनको गहना, १ लाख ५० हजार नगद र ल्यापटप–मोबाइल चोरी गरेका थिए । त्यस्तै, असार १४ गते पोखरा–१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरको सुनका गरगहना र ७० हजार नगद चोरी भएको थियो । गिरोहले नेपालीका घर मात्र नभई असार २३ गते पोखरा–८ ज्ञानकुञ्ज मार्ग बस्ने मोहसेन खातमीको कोठामा समेत पसेर मोबाइल र २५ हजार नगद चोरी गरेको प्रहरीले जनाएको छ ।
सोही रात लेकसाइडका हिरामणी लामिछानेको घरबाट आइफोन लगायतका सामान पनि चोरी भएको थियो । साथै असार १५ गते पोखरा– १८ भकुण्डेस्थित गिरीधारी श्रेष्ठको घरबाट एक तोला ५४ लाल तौल बराबरको सुनका गहना र २ वटा मोवाइल गिरोहले चोरेको थियो ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ठुलो परिमाणमा चोरीका सामान र सुनका ढिक्का बरामद गरेको छ । बरामद गरिएका सामानहरूमा ९ थान मोबाइल फोन, १ थान स्मार्ट घडी, १ थान ल्यापटप र कुल २ लाख १ हजार २ सय २० रुपैयाँ नगद रहेको छ । यसैगरी, १.३९४ तोलाको सुनको ब्रासलेट, ५ थान सुनका टुक्राहरू (०.६४४ तोला), तथा ९.३४२ तोला, १.८७३ तोला, १.०५४ तोला, ०.५०५ तोला र ०.४७ तोलाका छुट्टाछुट्टै ५ थान सुनका ढिक्काहरू बरामद गरिएको छ ।





