बागलुङ/राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजारक्षेत्रको दुई किलोमिटर सडक कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको छ । यो खण्ड कालोपत्र गर्ने काम एक वर्षमा सक्नुपर्ने थियो ।
२ किलोमिटर १ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम २०८२ भदौ १५ गते सम्पन्न गर्नुपर्ने थियो । तर, ठेकेदारको ढिलासुस्तीले काम नसकिँदा छोटो दुरीको सडक कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको हो । ६ करोड ७२ लाख ६५ हजार रुपियाँमा ठेक्का सम्झौता गरेर एच.सि.बि.जि.सी.एस. कम्पनीले काम शुरु गरेको थियो ।
निर्धारित समयमा काम नसकिएपछि २०८३ असार मसान्तसम्म म्याद थपिएको थियो । थपिएको समयमा पनि काम सम्पन्न भएपछि २०८३ असोज मसान्तसम्म म्याद थपिएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर विष्णु प्रसाद सुवेदीले जानकारी दिए ।
सडक निर्माणको २२ महिनामा भौतिक प्रगति ८० प्रतिशत रहेको छ । ‘‘तत्कालका लागि १२ मिटर चौडाको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल लगाउने र कल्भर्ट बनाउने काम सकिएकाले अब कालोपत्रको काम मात्रै बाँकी छ’’ इन्जिनियर सुवेदीले भने ।
लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका वडा नं. १ बोङेचौरको घुम्तीदेखि वडा नं. ४ उपल्लाचौरको बुर्तिवाङ चोकसम्म सडक कालोपत्र हुन लागेको हो । दुई लेन सडक कालोपत्र भएपछि बागलुङ बजारक्षेत्रको मुहार फेरिने विश्वास गरिएको छ ।
अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्र गरिने इन्जिनियर सुवेदीले जानकारी दिनुभयो । अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्र गर्दा लामो समय टिकाउ हुने र वर्षेनि सडक मर्मत र खाडल पुर्नुपर्ने झन्झटबाट केही हदसम्म मुक्ति मिल्ने सुवेदीको भनाई छ ।
निर्माण कम्पनी एच.सि.बि.जि.सी.एस.का प्रतिनिधि सुरेश श्रेष्ठले बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको आकाशिंदो मृल्यवृद्विले कामै गर्न नसक्ने अवस्था आएको बताए । ‘‘ठेक्का सम्झौता गर्दा पेट्रोलियम पदार्थको मुल्य १ सय २६ थियो, कालोपत्र गर्ने समयमा बढेर २ सय २६ रुपियाँसम्म पुग्दा कामै गर्न सकिएन’’ श्रेष्ठले भने ।
सडक संरचनाको सबै काम सकिएकोले थपिएको समयमा पर्याप्त मजदुर र उपकरण प्रयोग गरेर कालोपत्रको काम सम्पन्न हुने श्रेष्ठले बताए ।
सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो । लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठिबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति नै बनाएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुन सकेको थिएन ।
सर्वाेच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिवाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको हो । सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा असहज भइरहेको छ ।




