शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा बसपार्कमा २८६ परिवार सुकुम्बासी

पोखरा बसपार्कमा २८६ परिवार सुकुम्बासी

सुकुम्बासी र बसपार्कको जग्गा किन्नेहरुलाई व्यवस्थापन गरी यसै वर्ष बसपार्क निर्माण सुरु गर्ने महानगरको तयारी छ ।


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८३, आइतबार
फाइल तस्विर

पोखरा/पोखरा महानगरपालिकाले शनिबार पृथ्वीचोक बसपार्क क्षेत्रमा रहेका सुकुम्वासी र अव्यवस्थित बसोबासी पहिचान गरी प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । महानगरको सूचीमा ५ सय ७४ परिवार समेटिएकोमा २ सय ८६ परिवारमात्रै भूमिहीन दलित र भूमिहीन सुकुम्वासी छन् । महानगरमा सुकुम्वासीका रूपमा निवेदन दिएका ५ सय ७२ जनाको दाबी छानबिन गरिएको हो ।

बाँकी २ सय ३३ परिवार अव्यवस्थित बसोबासी छन् । ५५ परिवारको विवरण भने दोहोरो परेको वा मेल नखाएको पाइएको मेयर धनराज आचार्यले बताए । अहिले सार्वजनिक नामावलीमा कुनै दाबी, विरोध भएमा वा विवरण सच्याउनु परेमा ७ दिनभित्र निवेदन दिन सकिनेछ । । महानगरले छानबिनपछि यही साउन १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ ।

बसपार्कका लागि अधिग्रहण गरिएको पूरै जग्गामा बसपार्क बनाउने योजना अघि बढेपछि त्यहाँ बसोबास गर्ने वास्तविक सुकुम्वासी पहिचान, उनीहरूको व्यवस्थापनका लागि जग्गा खोजी र नगर विकास समितिले बेचेको जग्गाबारे छानबिन गर्न बेग्लाबेग्लै समिति बनेका थिए । पूर्व न्यायाधीश शंकर बरालको संयोजकत्वको जग्गाको वास्तविक अवस्था पहिचान गर्ने समितिले प्रतिवेदन बुझाइसकेको छ ।

३ सदस्यीय सो समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रशासकीय अधिकृत प्रकाश सुवेदी सदस्य सचिव थिए । पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिका शाही योगी संयोजकत्वको समितिलाई सुकुम्वासी व्यवस्थापनका लागि जग्गा पहिचानको जिम्मा दिइएको थियो । सो समितिले सुकुम्वासी पनि सम्भावित जग्गा खोजी गरी महानगरलाई सिफारिस गरिसकेको छ ।

२०३२ सालमा बसपार्क बनाउन अधिग्रहण गरिएको दुई सय पाँच रोपनी जग्गामध्ये अहिले २६ रोपनीमात्र बाँकी थियो । केही जग्गा अपारदर्शी तवरले बिक्री भएको देखिन्छ भने अधिकांश भागमा सुकुमवासी र अव्यवस्थित बसोबासीका घर बनेका छन् । पाँच दशकअघिको पोखरा बसपार्क परियोजना अझै सुरु हुन सकेको छैन ।

यो बसपार्कमा न सार्वजनिक शौचालय छन् न त खानेपानीको राम्रो प्रबन्धनै मिलाइएको छ । कच्ची बसपार्क बर्खामा हिलाम्मे र हिउँमा धुलाम्मे हुन्छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको यो जग्गाबाट एक पटक ३७ वटा र अर्को पटक ११ वटा घडेरी व्यक्तिलाई बेचिएको विभिन्न अध्ययनले देखाएका छन् । अब समितिका नाममा १४८ रोपनी १२ आना तीन दाम एक पैसाको जग्गाधनी पुर्जा छ । समिति अहिले पोखरा महानगरपालिका मातहत छ ।

पूर्वमा सेतीको डिल, पश्चिममा पृथ्वी राजमार्गबाट विमानस्थल जाने गोरेटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणतर्फ सेतीगण्डकीबिचको चार किल्लाको अधिग्रहण गरिएको बसपार्कको जग्गामा राजमार्ग विस्तार र सेती कटानपछि १८८ रोपनी बाँकी थियो । सेतीतर्फ धाँजा फाटेको करिब ६८ रोपनी बसपार्कका लागि अनुपयुक्त हुँदा १२० रोपनी १२ आनामा बसपार्क बनाउन मिल्ने देखिएकोमा अहिले त्यो साँघुरिएर २६ रोपनी भएको छ ।

मुआब्जा दिएर राज्यले किनेको बसपार्कको जग्गामा अहिले करिब पाँच सय परिवार सुकुमवासी छन् । २०३६ सालतिर यहाँ सुकुमवासी बस्न थालेकोमा अहिले सुकुमवासीका पाँच वटा टोल छन् । अधिकांश घर अस्थायी खालका भए पनि दर्जनभन्दा बढी पक्की भवनसमेत बनेका छन् । सबै जसो घरमा बिजुली, पानीको सुविधा छ भने गल्ली गल्लीका बाटोसमेत पक्की बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->