बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले असार महिनामा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । असारमा ३४ वटा मुद्दा दर्ता हुँदा १४ जना प्रतिवादी पक्राउ परेको प्रहरीले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।
अपराध अनुसन्धानतर्फ २ जघन्य तथा गम्भीर अपराध, ६ महिला, बालबालिका र जेष्ठ नागरिकसँग सम्बन्धित अपराध र २६ वटा अन्य मुद्दा दर्ता भएका छन् । अदालतको फैसला कार्यान्वयनमा ७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीमा आएका ६५ ठाडो उजुरी सबै फछ्र्यौट भएका छन् । जिल्ला प्रशासन कार्यालयबाट आएका ४ वटा उजुरी पनि फछ्यौट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
असारमा ३ महिला र २ पुरुष गरी पाँच जना हराउँदा १ जना पुरुष फेला परेको प्रहरीले जनाएको छ । असार महिनामा मात्रै ९ जनाले आत्महत्या गरेका छन् । ‘‘ती सबै झुण्डिएर आत्महत्या गरेका घटना हुन्’’ प्रनाउ त्वातीले भने । आत्महत्या गर्नेहरुमा ५ महिला र ४ पुरुष १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न १ हजार ७ सय ६५ पटक नियमित प्रहरी परिचालन गरिएको छ । जसमा ४ सय २८ पटक पिकेट, २ सय ९१ पटक चेकिङ, १६ पटक ग्रामीण गस्ती र ९ सय २८ पटक एसआरपी गस्ती रहेका छन् । चेकिङका क्रममा १ हजार ४३ सवारी साधनबाट १ लाख ३६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
लागुऔषध नियन्त्रण अभियानमा प्रहरीले असारमा ७ सय ६० ग्राम गाँजाको धुलोसहित १ जना र लागुऔषध सेवनको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । नदी दोहन रोक्ने काममा १ सवारी साधनलाई कार्वाही गर्दा ५९ हजार रुपियाँ जरिवाना असुल भएको छ ।
असारमा बागलुङमा १२ वटा घटना भएका छन् । बाढी पहिरो, आगलागी र चट्याङका १/१ र अन्य ८ घटना भएका छन् । घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका छन् । सामुदायिक कार्यक्रमअन्तर्गत साइबर अपराधविरुद्ध ६, घरेलु हिंसाविरुद्ध १ र लागुऔषध न्युनिकरण सम्बन्धी ४८ वटा कार्यक्रम गरिएको त्वातीले जानकारी दिए ।




