गलकोट, बागलुङ/ गलकोट नगरपालिका–४ का गोविन्द प्रसाद शर्मा राम्रै गरि चिनिने शिक्षक हुन् । यतिबेला भने उनको परिचय फेरिएर चर्चित किवी किसान हुन पुगेका छन् ।
३ दशकदेखि शिक्षण पेशामा सक्रिय शर्माले जागिरसँगै कृषि कर्मबाट आम्दानीको नयाँ बाटो रोजेका हुन् । ४ वर्षअघि उनले लेकमा रहेको १० रोपनी बाँझो जग्गाबाट किवी खेती सुरु गरेका थिए। मेहनत र आम्दानी राम्रो भएपछि अहिले उनले ४५ रोपनीमा फलफूल मात्र लगाएका छन्। अहिले उनको बारीमा २ सय वटा किवीका बोट छन्। उत्पादन बढ्दै गएपछि किवी नै उनको आम्दानीको मुख्य स्रोत बनेको छ।
शिक्षकको तलबले मात्रै सबै खर्च नपुग्ने भएपछि केही फरक गर्नुपर्छ भन्ने सोचेर शर्माले किवी खेती रोजेका हुन्। उनले कृषि ज्ञानकेन्द्र बागलुङ र राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना बागलुङबाट प्रयाप्त आर्थिक सहयोग र तालिम लिएर खेती थालेका थिए। ३ वर्षसम्म लगातार मेहनत गरेपछि अहिले बोटहरुले राम्रो उत्पादन दिन थालेका छन्। उनको यस यात्रामा श्रीमती शर्मिला मल्ल शर्माको पनि महत्वपूर्ण योगदान रहेको छ।
गोविन्द भन्छन्, ‘तीन दशकदेखि विद्यार्थी पढाउँदै आएको छु। जागिरसँगै खेती पनि गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेको हुँ। किवीले राम्रो आम्दानी दिएको छ।’ गत वर्ष उनले ५५ क्विन्टल किवी उत्पादन र बिक्री गरेका थिए। उनको उत्पादन गलकोट, बागलुङ, कुश्मा, पोखरा, नारायणगढ, बुटवल लगायत देशका मुख्य शहर सम्म पुगेको छ। प्रतिकेजी २५० देखि ३ सय रुपैयाँमा बिक्री गरेर १५ लाख भन्दा बढी आम्दानी गरे। बोटहरु अझै सानै भएकाले आगामी वर्ष उत्पादन अझै बढ्ने उनको अपेक्षा छ।

शर्माको सफलताबाट प्रेरित भएर खरुवा र नुवाकोटका धेरै किसानले पनि किवी रोपेका छन्। उनले बिरुवा ल्याउन, रोप्ने तरिका र रोगबारे सल्लाह दिएर अरु किसानलाई सहयोग गर्दै आएका छन्। गलकोट–४ का वडाध्यक्ष बलबहादुर खत्री भन्छन्, ‘गोविन्द सरले देखाएर दिनुभयो। शिक्षक भएर पनि खेतीमा मेहनत गर्न सकिन्छ भन्ने प्रमाण उहाँले दिनुभयो। उहाँको प्रेरणाबाट वडाका अरु किसान पनि व्यावसायिक खेतीतिर लागेका छन्। वडाले अब किवी खेतीलाई प्रोत्साहन गर्ने योजना बनाएका छौँ।’
गलकोट नगरपालिकाले पनि फलफूल खेतीलाई प्राथमिकता दिएको छ। नगर प्रमुख भरत शर्मा गैरेका अनुसार किवी, स्याउ र ओखर खेतीका लागि किसानलाई अनुदान र प्राविधिक सहयोग दिइँदैछ। तर बजारिकरण र कोल्ड स्टोरको अभाव मुख्य चुनौती भएको शर्मा बताउँछन्। उनी भन्छन्, ‘उत्पादन बढ्दैछ, तर भण्डारण र बजारको समस्या छ। सरकार र नगरले बजारको ग्यारेन्टी दियो भने हजारौँ रोपनी जग्गामा किवी लगाउन सकिन्छ।’
तीन दशकदेखिको शिक्षण पेशासँगै किवी खेती गरेर आत्मनिर्भर बनेका शर्मा अरुका लागि पनि प्रेरणाका स्रोत बनेका छन्। उनले देखाएको बाटोमा अरु किसान पनि हिँड्न थालेका छन्। यदि यस्ता कृषिलाई प्रोत्साहन गरियो भने गलकोट नगर फलफूल उत्पादनमा जिल्लाकै अग्रणी बन्न सक्ने स्थानीय बताउँछन्।





