शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा असारमा सवारी दुर्घटनामा २१ जनाको मृत्यु

गण्डकीमा असारमा सवारी दुर्घटनामा २१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३ लाख राजस्व संकलन


  • ढाेरपाटन संवाददाता
  • साउन ४ २०८३, सोमबार

पोखरा/  गत असार महिनामा गण्डकी प्रदेशभरी विभिन्न सवारी दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् । उक्त महिनामा प्रदेशभर १९ वटा सवारी दुर्घटनामा २२ वटा सवारी साधनहरू संलग्न थिए ।

ती दुर्घटनाहरूमा परी २१ जनाले ज्यान गुमाएका र ज्यान गुमाउनेमा १६ पुरुष, २ महिला, १ बालक र २ बालिका रहेका छन् । यसैगरी, दुर्घटनामा १८ जना घाइते भएका छन् । सडक दुर्घटनाका क्रममा प्रहरीले १९ जनाको सकुशल उद्धार समेत गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पोखराले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार दुर्घटनाको कारण विश्लेषण गर्दा सबैभन्दा बढी चालकको लापरबाहीले १३ वटा (तीव्र गति १०, मादक पदार्थ सेवन २ र अन्य १) दुर्घटना भएका छन् । यस्तै, सवारी साधनको प्राविधिक गडबडीका कारण २ (हाइड्रोलिक प्रणाली फेल १, गेयर प्रणाली फेल १), यात्रुको असावधानीका कारण २ (ध्यान नदिएर ओर्लनु १, अन्य १), सडकको अवस्था (घुम्ती÷मोड) का कारण १ र मौसम (पहिरो) का कारण १ वटा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यालयका अनुसार असारमा प्रदेशका विभिन्न राजमार्ग तथा सडक खण्डहरूमा ३४ हजार ८७१ पटक सवारी साधनहरूको चेकिङ गरिएको थियो । त्यसक्रममा नियम विपरीत सवारी चलाउने एक लाख ६० हजार ७९४ वटा सवारी साधनलाई कारबाही गरी १४ करोड ३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ ।

ट्राफिक प्रहरीले तीव्र गतिमा कुद्ने ८२३ सवारी साधनलाई कारबाही गरी ४ लाख ६३ हजार रुपैयाँ र ओभरलोड बोक्ने ५५९ सवारी साधनबाट ७ लाख ३२ हजार १७५ रुपैयाँ राजस्व उठाएको छ । यसैगरी, १,७०६ पटक मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्दा १,३५८ जना कारबाहीमा परी ११ लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने ३८ पटक लागुपदार्थ सेवन (लापसे) चेकिङ गर्दा ४८ जना कारबाहीमा परेका छन् । फुटपाथ पार्किङ गर्ने १,०७६ सवारी साधनलाई कारबाही गरी ५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । स्वरूप परिवर्तन गर्ने ४१ वटा सवारी साधनलाई २ लाख ९३ हजार ५०० रुपैयाँ जरिवानासहित आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ । यस्तै, नम्बर प्लेट सुधार अभियान अन्तर्गत २,१४२ सवारी चेकिङ गरी १,१२७ वटाको नम्बर प्लेट सुधार गरिएको र ६७ वटालाई कारबाही गरिएको छ। २,३४५ सवारी साधनबाट झल्लर हटाइएको छ भने ३४९ सवारी साधनको कालो सिसा÷स्टिकर हटाई १० वटालाई कारबाही गरिएको छ ।

प्रगति विवरण अनुसार ट्राफिक प्रहरीले जेठ महिनामा समुदाय, विद्यालय तथा चालकहरूलाई लक्षित गरी व्यापक सचेतना कार्यक्रमहरू संचालन गरेको छ । कुल ४ हजार ७७७ पटक संचालन गरिएका विभिन्न सचेतना कार्यक्रमहरूबाट २ लाख २२ हजार ५०७ जना लाभान्वित भएका छन् । जसमा विद्यालय÷कलेजका २ हजार ९९९ विद्यार्थी, ९ हजार ४६५ नयाँ चालक, ३२ हजार ९३२ व्यवसायी तथा चालक परिचालक, ५२ हजार ५४८ सर्वसाधारण र ७१ हजार २१६ यात्रु तथा पैदलयात्री रहेका छन् । यसबाहेक ट्राफिक डे सप्ताह, सचेतनामूलक माइकिङ, अन्तरक्रिया, र पर्चा–पम्प्लेट वितरणमार्फत थप सर्वसाधारणलाई सचेत गराइएको थियो ।

प्रहरीले हराएका तथा चोरी भएका २० वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ भने २७ वटा सवारी साधन खोजतलास गरी धनीको जिम्मा लगाइएको छ । यातायात व्यवस्था कार्यालय कास्कीसँगको समन्वयमा ४० वटा सवारीको प्रदूषण चेकिङ गर्दा अत्यधिक धुवाँ उत्सर्जन गर्ने २२ वटा बसहरूलाई आवश्यक कारबाहीका लागि पठाइएको छ । सुरक्षा व्यवस्था चुस्त बनाउन ६८ स्थानमा नयाँ सीसीटीभी जडान गरिएको छ भने १४८ वटा सार्वजनिक सवारी साधनहरूमा सीसीटीभी तथा ड्यासक्याम जडान गरिएको छ । पोखरा महानगरपालिकासँगको समन्वयमा मुख्य–मुख्य ४१ स्थानमा सीसीटीभी क्यामेरा जडानका लागि टेन्डर आह्वान भई खरिद प्रक्रिया अघि बढेको छ ।

४ पटक नागरिक सुनुवाइ कार्यक्रम गरी एकहजार ४७८ जनासँग अन्तरक्रिया गरिएको छ । प्रहरी कर्मचारीहरूको मनोबल बढाउन हरेक शुक्रबार ‘टी वीथ द टीम’ र ‘नेचर वाक’ कार्यक्रमका साथै ३३७ जना ट्राफिक प्रहरीहरूलाई डिफेन्सिव ड्राइभिङ सम्बन्धी अनुशिक्षण प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->