शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटन फाँट र सम्भावनाको उपत्यका

ढोरपाटन फाँट र सम्भावनाको उपत्यका

पर्यटक बढेसँगै स्थानीयको आम्दानीको स्रोत पनि फराकिलो बनेको छ।


  • बालकृष्ण सुवेदी
  • साउन ४ २०८३, सोमबार

ढोरपाटन, बागलुङ/ पश्चिम बाग्लुङको ढोरपाटन उपत्यका। नेपालको एक मात्र शिकार आरक्ष, फाँट र लालीगुराँसको डाँडाको कारण यो क्षेत्रलाई ूनेपालको स्विजरल्याण्डू भनेर चिनाउन थालिएको छ। सडक पुगेपछि यो उपत्यका अब पर्यटकको रोजाइमा पर्न थालेको छ।

समुद्री सतहबाट ३ हजारदेखि ५ हजार मिटर उचाइमा फैलिएको ढोरपाटनमा गर्मीमा हरियाली फाँट र जाडोमा हिउँले ढाकिएको दृश्य देख्न सकिन्छ। गोरु भैंसी चराउने गोठाला, झ्यालबाट देखिने धौलागिरि शृङ्खला र स्वच्छ हावापानीले यहाँ आउने जोकोहीलाई लोभ्याउँछ।

पूर्वाधारसँगै बढ्यो पर्यटक आगमन
पहिले पैदल र घोडाको भरमा पुग्नुपर्ने ढोरपाटनमा अहिले बुर्तिबाङ हुँदै सडक पुगेको छ। सडक सञ्जाल विस्तार भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ। पोखरा, काठमाडौँ र बुटवलबाट छोटो समयमै पुग्न सकिने भएकाले सप्ताहन्त बिदामा यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ।

ढोरपाटन नगरपालिकाका कार्यबाहक नगर प्रमुख कल्याण कायतले प्राकृतिक सम्पदाको संरक्षण गर्दै दिगो पर्यटन विकास नगरपालिकाको प्राथमिकता रहेको बताए । ‘ढोरपाटन भगवानले दिएको वरदान हो। हामीले पूर्वाधार बनाउने, प्रचार गर्ने र स्थानीयलाई व्यवसायमा जोड्ने काम गरिरहेका छौँ। यसलाई देशकै नमुना गन्तव्य बनाउने लक्ष्य छ’, कायतले भने ।

नगरपालिकाले पदमार्ग स्तरोन्नति, होमस्टे सञ्चालन, सरसफाइ र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिएको छ। आरक्षभित्रको जैविक विविधता जोगाउँदै पर्यटन प्रवर्द्धन गर्ने नीति लिइएको छ।

होटलमा ग्राहक बढे, स्थानीयलाई रोजगारी
पर्यटक बढेसँगै स्थानीयको आम्दानीको स्रोत पनि फराकिलो बनेको छ। पछिल्लो २३ वर्षमा ढोरपाटनमा होटल, लज रेस्टुरेन्टको संख्या दोब्बर भएको स्थानीय बताउँछन्।

स्थानीय होटल व्यवसायी शिवराज कडेलका अनुसार अहिले ढोरपाटनमा पर्यटकको संख्या बढीरहेको छ । ‘पहिले माघ–फागुनमा ग्राहक हुँदैनथे, अहिले सडक राम्रो भएपछि वर्षैभरी पर्यटक आउँछन्। गर्मीमा फाँट हेर्न, जाडोमा हिउँ खेल्न आउनेको भीड हुन्छ। हाम्रो होटलमा अहिले स्टाफ थप्नुपरेको छ। स्थानीय दिदीबहिनीलाई रोजगारी दिएका छौँ’, उनले भने ।

कडेलका अनुसार पर्यटकले स्थानीय उत्पादन च्याँखो, मकैको ढिँडो, भट्टमास र आरुको रस खोज्ने गरेका छन्। यसले किसानलाई पनि बजारको बाटो खुलेको छ।

सम्भावना धेरै, चुनौती पनि उत्तिकै
ढोरपाटनमा पर्यटनको सम्भावना ठुलो छ। ट्रेकिङ, बर्ड वाचिङ, फोटोग्राफी र सांस्कृतिक पर्यटनको आधार यहाँ तयार छ। तर, विद्युत्, इन्टरनेट र फोहर व्यवस्थापन अझै चुनौतीकै रूपमा छन्।  स्थानीय र नगरपालिका मिलेर ‘स्वच्छ ढोरपाटन, सुन्दर ढोरपाटन’ अभियान चलाइरहेका छन्। पर्यटकलाई ूआफ्नो फोहर आफैँ बोकू भन्ने सन्देश दिइएको छ।

प्रकृतिले दिएको सम्पदालाई जोगाउँदै, स्थानीयको जीवनस्तर उकास्ने बाटो ढोरपाटनले पहिल्याएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->