बागलुङ/बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थाप घर भई हाल बेलायतमा रहेका कुश्मराज सुवेदीले दृष्टिविहिन र अपाङ्गता भएका व्यक्तिलाई नगदसहित सामग्री सहयोग गरेका छन् ।
सुवेदीले जैमिनी–९ पैयुथन्थापका अपाङ्गता भएका ६० वर्षिय मंगलसिंह परियार र दृष्टिविहिन ५३ वर्षिय कुलबहादुर थापालाई ६२ हजार रुपैयाँ बराबरको खाद्यान्न, शैक्षिक सामग्री, लत्ताकपडा र नगद सहयोग गरेका हुन् ।
आफू तथा बेलायतमा रहेका आफन्तबाट संकलित रकमबाट थापा र परियारलाई सहयोग गरिएको सुवेदीले बताए । उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बेलायतमा रहेका विभिन्न नेपाली समाज तथा संस्थासँग सहकार्य गर्दै आफ्नो गृह जिल्लाका अपाङ्गता, असहाय र विपन्न नागरिकलाई सहयोग गर्ने योजना सुवेदीले सुनाए ।





