पोखरा/वि.सं. २०७५ साल भदौमा दर खान हिडेका सात जनाको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ज्यान गयो । ०७९ असोजमा बेगनास ताल घुम्न जाँदा एक जना बेपत्ता भए भने अर्का एकको उद्धार गरियो ।
पोखराको पर्यटकीय क्षेत्र बेगनासतालमा बेला बेलामा डुंगा दुर्घटना भइरहन्छन्। डुंगा दुर्घटना भए सहज उद्धार होस्, कसैलेज्यान गुमाउन नपरोस्भनीगत वर्ष ताल किनारमा टावरनिर्माण भयो ।
फेवातालमा जस्तै सशस्त्र प्रहरी बलको उद्धार टोली रहने गरी करिब ५० लाख लागतमा रेस्क्यु टावर निर्माण भएको हो । तर निर्माण भएको १० महिना बितिसक्दा समेत टावर सञ्चालनमा आएको छैन । स्थानीय नागरिक, भूपू सैनिक, डुंगा व्यवसायी र होटल व्यवसायीको पहलमा सरकारले टावर निर्माण गरेपनि सञ्चालनको सुरसारै छैन ।
गण्डकी प्रदेश सरकारको लगानीमा बनेको उद्धार टावर सञ्चालनमा नआएपछि नागरिक समाजसले खबरदारी गरेको छ । नागरिक समाजका संस्थापक अध्यक्ष रामबहादुर पौडेल निर्माण सम्पन्न भइसक्दा समेत टावर सञ्चालनमा आउन नसक्नु दुःखद् भएको औंल्याउँछन् । ‘प्रदेश सरकारको लगानीमा त्यत्रो टावर ठडियो, त्यो सञ्चालनमा आउनेगरी लगानी गर्ने हो कि यसै छाड्ने हो?,’ उनको प्रश्न छ ।
बेगनासताल डुंगा व्यवसायी समितिका निवर्तमान अध्यक्ष रविराज कँडेलले पर्यटकको सुरक्षा जोडिएको विषयमा समेत संवेदनशील नहुँदा पर्यटकीय राजधानीको सुरक्षामाथि नै प्रश्न उठेको बताए । बेगनासताललाई फेवातालसरह नै राख्दै पर्यटकलाई ताल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको उनी औंल्याउँछन् ।
‘अहिलेसम्म तालमा दुर्घटना हुँदा हामी आफैं उद्धारमा खटिदैँ आएका छौं । कतिपय अवस्थामा हामीले मात्र सक्दैनौं, दक्ष उद्धार टोलीकै आवश्यकता पर्दछ ।’ रेस्क्यु टावर सञ्चालनमा आए फेवा जस्तै वेगनासमा समेत पर्यटकको संख्यामा वृद्धि हुने उनको अपेक्षा छ ।
टावरमा सुरक्षाकर्मी खटिएमा बराह मन्दिर जाने दर्शनार्थीका लागि समेत बिहान बेलुका डुंगा सञ्चालन गर्न सकिने उनी सुनाउँछन् । टावर सञ्चालनमा नआउनुको अर्को कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नु पनि हो । उक्त टावर सिंचाइँको जग्गामा बनेको र उक्त क्षेत्र सिमसारमा पर्ने भन्दै उजुरी परेपछि समस्या आएको पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले सुनाए ।
टावर सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारीसहित तीनैसुरक्षा निकायसँग बैठक बस्न आवश्यक रहेपनि अहिलेसम्म बैठक बस्न सकेको छैन। टावर निर्माणको जिम्मा सशस्त्र प्रहरी बलको कालिका गणलाई दिइएको थियो ।टावर बनाउन ५० लाख रुपैयाँमा खर्च भएको छ ।
‘अख्तियारमा मुद्दा परेको छ,बाँध र सिमसारलाई असर गर्ने भन्दै । हामीले प्रतिउत्तर लेखेर महानगरलाइ पठाएका छौं, यो नितान्त मानवीय क्षति हुनबाट बचाउनका लागि बनेको उद्धार केन्द्र हो’,कँडेलले भने, ‘त्यसैले यो टावर आवश्यक छ । त्यहाँबाट अलि ताल देखिने भएकाले तयार गरियो । पर्यटकपनि सुरक्षित रहने र २४ घन्टा सुरक्षाकर्मी रहँदादुव्र्यसनी पनि रोकिने थियो ।’
कास्कीको दोस्रो ठूलो ताल बेगनास व्यावसायिक रुपमा डुंगा सञ्चालन हुने ताल हो । फेवातालमा डुंगा व्यवसाय मौलाए पनि यहाँको व्यवसाय फस्टाउन सकेको छैन ।





