बागलुङ/ अत्यधिक वर्षाका कारण बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ मल्मको गैराखर्क बस्ती पहिरोको उच्च जोखिममा परेको छ।
हरिचौर-मल्म-पाण्डवखानी-बोंगादोभान मोटरबाटो अन्तर्गत पर्ने मल्म काउले खोलादेखि मल्म नाच्नेडाँडा जाने बिचको काउले भन्ने स्थानमा करिब ७५ मिटर भूभाग पहिरोले बगाएको छ र बग्ने क्रम जारी छ।
पहिरोका कारण गैराखर्क टोलका १३ घरधुरी, श्री जनहित माध्यमिक विद्यालय र जनहित कला केन्द्र प्रत्यक्ष प्रभावित हुने अवस्था बनेको छ। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ। स्कुल जाने बालबालिका र स्थानीयको दैनिक आवागमन समेत प्रभावित भएको छ।
स्थानीय ज्ञान बहादुर थापाले पहिरो राति पनि निरन्तर बढिरहेको बताए। ‘अहिले नै बाटो पुरै बिग्रिसक्यो। यदि पानी रोकिएन र तत्काल नियन्त्रण भएन भने पहिरो सोझै घर बस्तीमै पस्न सक्छ। हामी रातभर निदाएका छैनौँ,’ उनले भने।
वडा अध्यक्ष राज थापाले नियन्त्रण र बस्ती सुरक्षाका लागि चिन्ता व्यक्त गरे। ‘हामी नियन्त्रण र बस्ती सुरक्षाको लागि चिन्तित छौँ। नगरपालिका र जिल्ला प्रशासनसँग समन्वय गरेर तत्काल अस्थायी संरक्षणको प्रयास गरिरहेका छौँ,’ उनले भने।
वडा कार्यालयबाट प्रारम्भिक पहल भइसकेको छ। तर थप स्रोत साधन र प्राविधिक सहयोग आवश्यक देखिएको छ। समयमै जोखिम न्यूनीकरण नभए जनधनको ठुलो क्षति हुने सम्भावना रहेको स्थानीय र जनप्रतिनिधिले बताएका छन्।
गलकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय बागलुङ र सम्बन्धित सरोकारवाला निकायमा तत्काल ध्यानाकर्षण गरिएको छ। स्थानीयले क्षति हुनुभन्दा पहिले सचेतना अपनाउन र सुरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह गरेका छन्।





