बागलुङ/ साल्झण्डी–ढोरपाटन सडक खण्डमा सोमबार राति पहिरो खस्दा पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। ढोरपाटन नगरपालिका–९ सुकुर्दुङमा सडक माथिबाट एक्कासी आएको पहिरोले ग १ य ९८२ नम्बरको स्कर्पियोलाई पुरेको हो।
बुर्तिबाङबाट ढोरपाटनतर्फ गइरहेको अवस्थामा गाडी पहिरोको चपेटामा परेको थियो। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक सुदीप भट्टराईका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। ‘पर्यटक लिएर जाँदै गरेको गाडी पहिरोमा पुरिएको छ। मानिसहरू सुरक्षित छन्,’ उनले भने।
घटनापछि गाडी निकाल्न र अवरुद्ध सडक खुलाउन मेसिन प्रयोग गरेर काम भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण बुर्तिबाङ–ढोरपाटन खण्डमा यातायात आवागमन ठप्प छ। प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको छ।





