शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा ७१ हिंसा प्रभावितले लिए सेवा

बागलुङमा ७१ हिंसा प्रभावितले लिए सेवा

केन्द्रमा आउनेहरुको घटना प्रकृति हेर्दा शारीरिक हिंसा ५, मानसिक हिंसा ११, आर्थिक हिंसा ७, यौनजन्यमा परेका ११ जना महिला छन् । प्रभावितमध्ये ४२ जना दलित, ७ जना जनजाति र २२ जना अन्य समुदायका महिला छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८३, बुधबार

बागलुङ/बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्रबाट जिल्लाका ७१ जना महिलाले सेवा लिएका छन् । शारीरिक, मानसिक, आर्थिक र यौनजन्य हिंसाबाट प्रभावित ७१ जनाले केन्द्रबाट सेवा लिएका हुन् ।

आ.व. २०८१/८२ मा भन्दा आ. व. २०८२/८३ मा घरेलु हिंसाका घटना घटेका छन् । ०८०/८१ मा ७२ र २०८०/८१ मा ९२ जनाले केन्द्रबाट सेवा लिएका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा केन्द्रबाट जिल्लाका ७१ जना हिंसा प्रभावित महिला लाभान्वित भएको बागलुङ नगरपालिकाका उप–प्रमुख तथा हिंसा प्रभावितहरुको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काले जानकारी दिए ।

गत आ.व.मा बागलुङ नगरपालिकाका ३३, जैमिनीका ८, गल्कोटका २, ढोरपाटनका ३, काठेखोला गाउँपालिकाका १०, बडिगाडका २, ताराखोलाका १, तमानखोलाका ३, निसीखोलाका २, बरेङका १ जना महिलाले केन्द्रबाट सेवा लिएका छन् । जिल्ला बाहिरका ६ जनाले केन्द्रबाट सेवा लिएको संयोजक खड्काले बताए ।

सेवा लिएकामध्ये ५२ जनालाई केन्द्रमा आश्रय सहितको सेवा दिइएको थियो । हिंसा प्रभावित ५ जनालाई यातयात खर्च, ६ जनालाई लत्ताकपडा, ५ जनालाई कानुनी उपचार र २ जनालाई जिविकोपार्जन अनुदान सेवा उपलब्ध गराईएको थियो ।

यस्तै, हिंसा पीडितको न्यायका लागि केन्द्रले मुद्दाको तारेखमा सहजीकरण गर्नुका साथै सरोकारवालासंग समन्वय, एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) मा सफारिस, संरक्षणका लागि सिफारिस, मिलापत्र, जिल्ला कानुनी सहायतामा सिफारिस र जिल्ला प्रहरी कार्यालयसंग समन्वय गर्दै आएको छ ।

‘‘महिलामा हिंसा लुकाउनु हुँदैन भन्ने सोचको विकास हुँदै जाँदा पछिल्लो समय हिंसा प्रभावितहरु सेवा केन्द्रमा आउने क्रम बढ्दै गएको छ’’ संयोजक खड्काले भने, ‘‘६० जना हिंसापीडित महिला सोझै सेवा केन्द्रमा आउनुभएको थियो ।’’ प्रहरीमार्फत ८ र ओसिएमसिमार्फत ३ जना केन्द्रमा आएको खड्काले जानकारी दिए ।

केन्द्रमा आउनेहरुको घटना प्रकृति हेर्दा शारीरिक हिंसा ५, मानसिक हिंसा ११, आर्थिक हिंसा ७, यौनजन्यमा परेका ११ जना महिला छन् । प्रभावितमध्ये ४२ जना दलित, ७ जना जनजाति र २२ जना अन्य समुदायका महिला छन् ।

हिंसा प्रभावित घटना न्यूनिकरणका लागि पछिल्लो समय बागलुङ नगरपालिकाले मनोसामाजिक परामर्शसहित रचनात्मक कार्यक्रम संचालन गर्दै आएको संयोजक खड्काले बताए । गतवर्ष ७ सय ४४ लाई सामूहिक र महिला पुरुष गरी ५१ जनालाई व्यक्तिगत रुपमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ ।

हिंसा प्रभावितको सेवा केन्द्र संचालन तथा व्यवस्थापनका लागि संघिय सरकारबाट ५ लाख तथा प्रदेश सरकारबाट १० लाख गरी १५ लाख रुपियाँ खर्च भएको नगर उप–प्रमुख खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->