बागलुङ/बागलुङ नगरपालिकाका ७ सय २७ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । तीमध्ये २ सय ८ जनाले पूर्णअशक्त अपाङ्गता ‘क’, ३ सय ५६ जनाले अतिअशक्त अपाङ्गता ‘ख’, १ सय ४० जनाले मध्यम अपाङ्गता ‘ग’ र २३ जनाले सामान्य अपाङ्गता ‘घ’ वर्गको अपाङ्गता परिचय पत्र प्राप्त गरेका हुन् ।
नगरपालिकाका उप–प्रमुख राजु खड्काका अनसार, आर्थिक वर्ष २०८२÷८३ मा २८ जना अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । ४ जनालाई ‘क’, १५ जनालाई ‘ख’, ५ जनालाई ‘ग’ र ४ जनालाई ‘घ’ वर्गको अपाङ्गता परिचय प्रत्र प्रदान गरिएको हो ।
नगरभित्र अपाङ्गता भएका कुनै पनि व्यक्ति भए नजिकको वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गरेर अपाङ्गता परिचय पत्र लिनसक्ने व्यवस्था गरिएको अपाङ्गता परिचय पत्र वितरण समितिका संयोजक समेत रहनुभएका खड्काले जानकारी दिए ।
चालु आ.व.मा नगरका अपाङ्गता भएका व्यक्ति र परिवारले भोग्नुपरेका समस्या, सम्भावना र अपेक्षा लगायतका क्षेत्रमा अध्ययन गरिने र अपाङ्गता भएका व्यक्तिीलाई शिक्षा, स्वास्थ्य, स्वरोजगारको पहुँचमा जोड्न अध्ययन गरिने खड्काले बताए ।
सरकारी तथा गैरसरकारी निकायहरुबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रवाह गरिने सेवासुविधा, अवसर र अधिकारको न्यायपूर्ण र प्रभावकारी वितरण होस् भन्ने हेतुले नेपाल सरकारले अपाङ्गता परिचयपत्रको व्यवस्था गरेको हो ।




