बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको ४४ औं स्मृति दिवस बागलुङमा पनि मनाइएको छ ।
नेपाली कांग्रेस बागलुङले बागलुङ नगरपालिका–१ रामरेखामा रहेको बीपी स्मृति पार्कमा हरित जलवायु संरक्षणका लागि वृक्षारोपण, सरसफाई एवम् जलवायु संवाद तथा जरा अभियान समापनको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रमअन्तर्गत बुधबार बिहान पार्कमा नेपाली काँग्रेसका नेता कार्यकर्ताको सहभागितामा वृक्षारोपण तथा सरसफाई गरिएको थियो भने दिउँसो जलवायु संवाद तथा जरा अभियान समापनको आयोजना गरिएको थियो ।
जलवायु संवाद तथा जरा अभियान समापनको अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीत नारायण श्रेष्ठले नेपालका राजनीतिमा बीपी कोइरालाको योगदान महत्वपूर्ण रहेको बताए । उनले बीपी कोइरालाले राजनीति, साहित्य र विचारले मानिसलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नु भएको बताए ।
आज जलवायु परिवर्तनका कारण मानव अस्तित्व नै संकटमा परेको अवस्थामा उहाँको विचारलाई आत्मसाथ गर्दै मानव अस्तित्वको रक्षाका लागि अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाई थियो । उनले पार्टीको विधि, नीति र विधानभन्दा माथि कोही पनि नभएकाले सोही अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा डा. कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनको प्रभावबारे जानकारी गराउँदै हरित जलवायु संरक्षण अभियानमा सबैको सहकार्य आवश्यक देखिएको बताए । उनले विकासलाई जलवायुमैत्री बनाउनुपर्नेमा जोड समेत दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य चम्पादेवी खड्का, संघिय सांसद रेणुका काउचा, नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, जिल्ला पार्टीका पूर्व सभापति प्रकाश शर्मा पौडेल, पूर्व सांसद टंकप्रसाद शर्मा कँडेल र विद्यार्थी नेता विशेष पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम कांग्रेस उपसभापति तारानाथ पौडेलको अध्यक्षता, सहसचिव ज्ञानु श्रीस शर्माको स्वागत र सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको थियो ।





