शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मध्यपूर्वको बाछिटा पोखरासम्म

मध्यपूर्वको बाछिटा पोखरासम्म

आन्तरिक पर्यटक बढे पनि मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पुग्ने विदेशी केही घटेका छन् ।


  • विजय नेपाली
  • साउन ७ २०८३, बिहिबार

पोखरा/अमेरिका–इरानको युद्ध, रुस–युक्रेनको तनाव जस्ता कारणले नेपालमा विदेशी पर्यटकको आगमन अपेक्षित हुन सकेको छैन । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पनि विदेशी पर्यटक आगमन घटेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ रातो पहिरोस्थित संग्रहालयमा पर्यटकको संख्या घट्न थालेपछि आम्दानीसमेत कम भएको छ । मध्यपूर्वको बढ्दो युद्धको प्रभावले संग्रहालयमा समेत असर गर्न थालेको हो । गएको आर्थिक वर्षमा नेपालबाहेक अन्य ९२ राष्ट्रका ३३ हजार ६ सय १५ पर्यटकले संग्रहालय अवलोकन गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी भारतीय पर्यटक छन् । १२ हजार ६ सय ५२ जना भारतीय पर्यटक गत वर्ष पर्वतीय संग्रहालय अवलोकन गर्न पुगेका हुन् । नेपालका आन्तरिक पर्यटकको संख्या भने एक लाख २३ हजार ६७ जना छ । गएको वर्ष संग्रहालयले ३ करोड १६ लाख ८२ हजार ६ सय ३० रुपैयाँ आम्दानी गरेको छ । २०८२ साउनदेखि २०८३ असार ३२ गतेसम्म १ लाख ५७ हजार दुई सय ५७ टिकट बिक्रीबाट यो आम्दानी भएको हो ।

२०६० सालमा स्थापना भएको पर्वतीय संग्रहालय दुई दशक पार गरिसकेको छ । यहाँ विदेशी पर्यटक घट्नुको मुख्य कारण मध्यपूर्वको द्वन्द्व रहेको संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने बताउँछिन् । ‘अहिले विदेशी पर्यटक घट्नुको कारण मध्यपूर्वको द्वन्द्व नै हो । यहाँ आउने पर्यटक भनेको ट्रेकिङ जानेहरु हुन्छन् । अहिले नेपाल आउने पर्यटक नै घटेका छन् जसको प्रभाव संग्रहालयमा पनि परेको छ’, उनले भनिन् ।

२०६० सालमा स्थापना भएको संग्रहालय सोही वर्ष १४ हजार दुई सय १७ पर्यटकले अवलोकन गरेका थिए । त्यसपछि उक्त संग्रहालय घुम्न जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । स्थापनाको दुई दशक यता सबैभन्दा बढी अवलोकनकर्ता २०७५ सालमा पुगेका थिए । त्यति बेला २ लाख ६९ हजार ६ सय ३८ पर्यटकले संग्रहालय अवलोकन गरेका थिए भने सबैभन्दा कम २०७७ सालमा ४५ हजार ६ सय २ पर्यटक पुगेका थिए ।

उक्त बेला विश्व कोरोना भाइरस (कोभिड–१९)को प्रकोपले गाँजिएको थियो । पछिल्ला तीन वर्ष यता पनि पर्यटकको संख्या बढ्न सकिरहेको छैन् । २०८० सालमा १ लाख ७० हजार ८ सय ८५, ०८१ मा एक लाख ५४ हजार पाँच सय ९६ पर्यटक पुगेका थिए । विदेशी पर्यटकको संख्यामा कमी आए पनि आन्तरिक पर्यटक भने बढिरहेको देखिन्छ ।

संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले संग्रहालयको प्रर्बद्धन अबको समयमा सामाजिक सञ्जाल र प्रविधिमा आधारित बनाउन आवश्यक रहेको बताइन् । उनका अनुसार त्यहाँ आउने पर्यटकले भने यसबारे राम्रो प्रतिक्रिया दिने गरेका छन् ।

‘भिजिटरका लागि कमेन्ट बुक छ । हामीले त्यहाँबाट थाहा पाउँछौं । फिडब्याक राम्रो छ । मुख्य कुरा अहिलेको कमजोरी प्रविधिको प्रयोग गर्न नसक्नु हो । यो हिमाली इतिहास इतिहास बोकेको संग्रहालय भएकाले अन्तर्राष्ट्रिय जगतमै यसको चर्चा हुन उत्तिकै आवश्यक छ’, न्यौपानेले थपिन्, ‘अहिले विदेशी पर्यटक घट्दा आन्तरिक पर्यटक बढिरहेका छन् । अझ स्थानीय विद्यालयहरुको अवलोकन भ्रमण व्यापक रुपमा वृद्धि भइरहेको छ । करिब २० प्रतिशतको हाराहारीमा विद्यार्थीहरु आउने गरेका छन् ।’

नयाँ पुस्तालाई आकर्षण गर्न सामाजिक सञ्जालको प्रयोग गर्न सकेमा अहिलेको संख्या दोब्बर वृद्धि गर्न सकिने न्यौपानेको भनाइ छ । संग्रहालयमा हाल १९ जना कर्मचारी र ७ सरक्षा गार्ड कार्यरत छन् । पर्वतारोहण र हिमाली जनजीवनबारे जानकारी दिने यो संग्रहालय पछिल्लो समय अध्ययन, अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->