बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीस्थित भुनेवा चौरीखोला पुल नजिकै खसेको भीमकाय पहिरोले अवरुद्व बनेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड एक सातापछि खुलेको छ ।
निरन्तरको वर्षा र लेदोसहितका ढुंगा खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन समस्या भएको थियो । गत शुक्रबार खसेको पहिलो एकसाता लगाएर पन्छाएपछि शुक्रबार साँझदेखि सडक एकतर्फी खुलेको जैमिनीका उप–प्रमुख हरिहर शर्माले जानकारी दिए ।
सडक सूचारु भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालसंग जोडिंदा जनजीवन सामान्य बनेको उप–प्रमुख शर्माले बताए । पहिरोले बेलबगरमा रोकिएका यात्रुबहाक सवारी साधन र मालबहाक ट्रकहरु गन्तव्यतर्फ प्रस्थान गरेको छन् ।
सडक डिभिजन कार्यालयको समन्वयमा तीन ओटा जेसीबी मेसिन परिचालन गरी पहिरो हटाउने काम भएको थियो । पहिरो ठूलो तथा जटिल प्रकृतिको भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन लामो समय लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताए ।
अत्यधिक सवारी चल्ने सडकलाई दुईतर्फी रुपमा सञ्चालन गर्न तीन ओटा मेशिनहरु प्रयोग भइरहेको त्वातीले जानकारी दिए । कमजोर भू–बनोटका कारण वर्षायाममा भुनेवाको पहिरोले सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ ।





