लेखनाथ/कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७, अर्घौ अर्चलेमा व्यवस्थित टिकट घर बनेको छ । लेखनाथ उद्योग वाणिज्य संघको आर्थिक सहयोगमा निर्माण गरिएको टिकट घर शुक्रबार जन्मस्थल विकास समितिलाई हस्तान्तरण गरियो ।
संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष कवि शिरोमणिको स्मृतिमा विभिन्न कार्य गर्दै आएको छ। यस वर्ष जन्मस्थलको व्यवस्थापन तथा प्रचारप्रसारमा सहयोग गर्न टिकट घर निर्माण गरिएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले टिकटघर उद्घाटन गरे । उनले राष्ट्रलाई चिनाउने व्यक्तित्वको सम्मानमा गरिने हरेक कार्य राज्यका लागि पनि महत्वपूर्ण हुने बताए। उनले कवि शिरोमणि लेखनाथ पौड्यालका नाममा गौरवका योजना अघि बढाउन दीर्घकालीन गुरुयोजना आवश्यक रहेको औँल्याए ।
उनले अर्घाैंअर्चलेलाई गण्डकी प्रदेशस्तरीय साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। ‘अब साना र टुक्रे योजनाभन्दा दीर्घकालीन प्रभाव पार्ने एकीकृत योजना आवश्यक छ,’ उनले भने ।
लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चतुराखर अधिकारीले कवि शिरोमणिका कवितामा वर्णित प्राकृतिक परिवेशसँग जोडेर जन्मस्थललाई ‘प्रयोगात्मक साहित्यिक स्थल’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव राखे । उनले खहरे खोला, जंगली काँडा लगायत कवितामा उल्लेख भएका प्राकृतिक दृश्यलाई प्रत्यक्ष अनुभव गर्न सकिने गरी विकास गर्न सके विदेशी साहित्यिक गन्तव्यजस्तै कविता वाचन, अध्ययन तथा अवलोकनका नियमित कार्यक्रम सञ्चालन गर्न सकिने औंल्याए ।
संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले लेखनाथको जन्मस्थललाई व्यवस्थित रूपमा विकास गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना रहेको बताइन् । ‘टिकट घर एउटा उदाहरणमात्रै हो । सरकारको प्राथमिकतामा यो क्षेत्र परेमात्र कवि शिरोमणिको सम्मान हुन्छ,’ उनले भनिन् ।
पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लेखनाथको जन्मस्थल विकासमा प्रदेश सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले प्रत्येक वर्ष प्रदेश सरकारसमक्ष बजेटका लागि योजना पेस गरिए पनि अपेक्षाअनुसार बजेट विनियोजन हुन नसकेको गुनासो गरे । ‘आश्वासन धेरै करोडको आउँछ, तर व्यवहारमा त्यसअनुसार बजेट आउँदैन,’ उनले भने ।
लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष गोपिराज पौडेलले पौड्यालको जन्मजयन्ती (पुस १५) मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा घोषणा गर्न माग गरे ।





