बागलुङ (खर्वाङ)/नौ दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाका एक किशोर मृत अवस्थामा फेला परेका छन् । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै साउन १ गते साँझ घरबाट निस्किएका बडिगाड–१ थानका १७ वर्षिय लजिन थापा मृत फेला परेका हुन् ।
लामो समय बितिसक्दा पनि घर नफर्किएपछि स्थानीयबासी र प्रहरीको टोलीले लजिनको निरन्तर खोजी गरेका थिए । शनिबार घरदेखि करिब ८ सय मिटर दुरीको म्यालडाँडामा घोप्टो परेको अवस्थामा लजिनको शव फेला परेको हो ।
शंकास्पद अवस्थामा लजिनको शव फेला परेपछि थान गाउँ अहिले शोकमा डुबेको छ । लजिनको परिवारमा रुवाबासी चलेको छ । ‘‘शंकास्पद घटनाले सिङ्गो समाज नै त्रसित भएको छ, घटना स्वभाविक हो की रहस्यमयी, सुक्ष्म अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि हदैसम्मको कानुनी कार्वाही गर्नुपर्छ’’ स्थानी अगुवा सुनिल शेरचनले भन्नुभयो ।
अहिले घटनास्थलको मुचुल्का तयार गरेर शव पोस्टमार्टमको लागि धौलागिरि प्रादेशिक अस्पतालमा लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गलकोट हरिचौरका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराले जानकारी दिए ।
यसअघि प्रहरीले बेपत्ता लजिनसंग त्यसदिन साथमा रहेका चार जनालाई नियन्त्रणमा लिएको छ । ‘‘लजिन सम्पर्कविहिन भएदेखिका गतिविधिमा हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं’’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले भने ।




