पोखरा /गण्डकी प्रदेश सभाले पारित गरि प्रमाणीकरणका लागि पठाएको गाँजा विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरि प्रदेश सभामा फिर्ता पठाएका छन् ।
औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख डिल्लिराज भट्टले पुनर्बिचार गर्न भन्दै फिर्ता गरेका हुन् ।
विधेयक नेपालको संविधान र संघीय कानुनसँग बाझिएको भन्दै भट्टले फिर्ता गरेका हुन । उनले संबिधानको धारा २०१ को उपधारा ३ बमोजिम सन्देशसहित विधेयक फिर्ता पठाएका हुन ।
गाँजा विधेयक प्रदेश सभा सचिवालयले गत असार ३० गते प्रदेश प्रमुखको कार्यालयमा पठाएकोमा शुक्रबार उनले यो विधेयक फिर्ता गर्ने निर्णय अरेका हुन । संविधानको धारा ५७ को उपधारा ६ मा प्रदेश सभा, गाउँ सभा वा नगर सभाले कानुन बनाउँदा संघीय कानुनसँग नबाझिने गरी बनाउनुपर्ने ब्यावस्था छ । प्रदेश सभाले बनाएको त्यस्तो कानुन संघीय कानुनसँग बाझिएमा त्यो स्वत खारेज हुने प्रावधान छ ।
संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ को दफा ४ को उपदफा २ मा पनि प्रदेशले कानुन बनाउँदा विचार गर्नुपर्ने कुराहरू उल्लेख छन् । सोही उपदफाको खण्ड ख मा प्रदेशले आफ्नो एकल वा साझा अधिकारको विषयमा कुनै कानुन वा नीति बनाउँदा संघीय कानुनसँग बाझिन नहुने उल्लेख गरिएको छ । गण्डकी प्रदेश सभाले तयार पारेको गाँजासम्बन्धी विधेयकले यी कानुनी आधारहरूलाई उल्लंघन गरेको सन्देशमा उल्लेख छ ।
संघीय कानुनका रूपमा रहेको लागू औषध नियन्त्रण ऐन २०३३ ले गाँजालाई पूर्ण रूपमा निषेध गरेको छ । उक्त ऐनको दफा ३ को खण्ड क को उपखण्ड १ मा गाँजा र उपखण्ड २ मा औषधोपयोगी गाँजालाई लागू औषधका रूपमा परिभाषित गरिएको छ । सोही ऐनको दफा ४ को खण्ड क ले गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न र बिक्री वितरण गर्न निषेध गरेको छ । त्यसैगरी गाँजाको निकासी वा पैठारी गर्न, ओसारपोसार गर्न, संचय गर्न वा सेवन गर्ने कार्यलाई समेत उक्त संघीय ऐनले पूर्ण रूपमा बन्देज लगाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संघीय कानुनसँग मेल नखाएका कारण विधेयकमाथि पुनर्विचार गर्नुपर्ने देखिएको उल्लेख छ । ‘औषधीजन्य र औद्योगिक प्रयोजनका लागि भनिए पनि संघीय ऐनले यसलाई लागू औषध मानेर निषेध गरेकाले प्रदेशले मात्रै कानुन बनाउन मिल्दैन,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





