बागलुङ/वर्षमा दुई, चार हजार बिरुवा उत्पादन गर्नेहरु व्यावसायिक किसानका रुपमा चिनिन्छन् । तर बागलुङका गंगाबहादुर थापाले भने सुन्तलाका ४० हजार बिरुवा बेच्ने लक्ष्य राखेका छन् ।
५१ वर्षीय गंगाबहादुरले प्लाष्टिकको दरबारभित्र ती बिरुवा उत्पादन गरी बजारमा पठाउने लक्ष्य लिएका हुन् । नर्सरीबाट उनले सयौं बिरुवा उत्पादन गरी वरपरको क्षेत्रलाई सुन्तलामय बनाउने सोचसमेत राखेका छन् ।
जैमिनी नगरपालिका वडा नं. ९ घर भई बागलङ नगरपालिका वडा नं. ३ को गौंडाकोट बस्ने थापाले वडा नं. ६ को लहरेपीपलमा नर्सरी बनाएका छन् । ताजा तरकारी खेतीबाट ख्यातिट कमाएका उनले अहिले नौलो विधि भिœयाएका हुन् । उनको नर्सरीमा सिंचाइसमेत अटोमेसन विधिबाट हुन्छ ।
मोबाइलबाटै उनले सिंचाइका लागि कमान्ड मिल्ने विधि बनाएका छन् । यो विधिका कारण उनी नर्सरीमा नियमित जानु पनि पर्दैन । त्यसो भन्दैमा उनी घरमा बसिरहेका पनि छैनन् । बिहान, बेलुकी बागलुङ नगरपालिका वडा नं. ४ स्थित राहुल कृषि फर्ममा काम गर्ने थापा दिउँसो नर्सरीमा हुन्छन् ।
बागलुङ नगरपालिका वडा नं. ६ को भान्सा, पञ्चकोट र आसपासको स्थानमा सुन्तलाको जंगल बनाउने उनको चाहना छ । त्यसका लािग वार्षिक ३० हजार भाडा तिर्ने गरी स्थानीयको ५ रोपनी जमिन उनले लिएका छन् । त्यहाँ उनले पञ्चकोट कृषि नर्सरी खोलेका छन् । थापाले यो नर्सरीमा टाइफ्लेट नामक जंगली तीनपाते बिरुवाको जरामा स्थानीय खोकु जातको सुन्तलालाई कलमी गरेर विषम हावापानी सहने बिरुवा उत्पादन गरिरहेका छन् ।
अटोमेसनबाट सिंचाइ गरिने भएकाले कीरा सिधै छिर्न सक्दैनन् । त्यसबाहेक भित्र जानै परे पनि उनले तोकिएको मानिसमात्र जाने र सरसफाइमा विशेष ध्यान दिने गरेका छन् । यो विधिका लागि झण्डै २५ लाख खर्च भएको छ ।
जग्गाभित्र आधा दर्जन हाइटेक टनेल छन् । एकादुईमा त उनले खुर्सानी, गोलभेडा र साग पनि लगाएका छन् । नियमित आयस्रोत पनि बन्ने र दिगो व्यवसाय पनि चलाउने गरी उनको फार्म सञ्चालित छ । मेहेनतपछि कृषिका विभिन्न कार्यक्रमबाट पनि उनलाई सहयोग मिलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले लागत साझेदारीमा ४ लाख रुपैयाँ दिएकोमा अन्य लगानी आफैंले गरेका छन् ।
थापाले नर्सरी बढाएर बागलुङ नगरपालिका वडा नं. ६, ७, ८ र ९ लाई सुन्तलाको जंगल बनाउने योजना बनाएको बताए । त्यसका लागि हरेक किसानलाई सहुलियतमा बिरुवा दिने उनको योजना छ । बाँझिएको जमिनमा सुन्तला फलाउने र विदेश पुगेका युवालाई गाउँ फर्काउने लक्ष्य बनाएको उनले बताए ।
‘हामीले पहल गरियो भने गाउँमै सयौं राँपनीमा सुन्तला खेती गरी ट्रकबाट बिक्री गर्न सकिन्छ’, उनले भने, ‘त्यसका लागि स्थानीयले बाँझो जमिन उपयोग गर्ने लक्ष्यमात्रै बनाए पुग्छ ।’
थापा वार्षिक ४० हजार बिरुवा उत्पादन गरी बजार पठाउने लक्ष्य लिएका छन् । ५ वर्षअघि म्याग्दीको भकिम्लीमा पनि उनले सानो नर्सरी बनाएका थिए । त्यसको उत्पादनसमेत गरी यो वर्ष लक्ष्यको आधा सुन्तलाका बिरुवा बेच्ने उनले बताए । आगामी वर्ष भने यहाँबाटै ४० हजार बिरुवा बिक्री हुने छन् ।
थापाले म्याग्दीको भकिम्लीमा१ सय रोपनी जमिनमा सुन्तला, किवी र अन्य तरकारी लगाएका छन् । अहिले तीन स्थानमा कृषिका आर्कषक फर्म सञ्चालनमा ल्याइसकेका छन् । तीन वटै फर्मलाई जोडेर कृषि पर्यटन प्रवद्र्धन कार्यक्रममा पनि जोड्ने लक्ष्य उनको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ को गौंडाकोटमा १५ रोपनी, म्याग्दीको १ सय रोपनी र पञ्चकोटको ५ रोपनीमा उनले नियमित लगानी र काम गरिरहेका छन् । म्याग्दीमा अरु ४ लगानीकर्ता छन् भने अन्य फर्म उनका एकल हुन् ।
धार्मिक पर्यटकको चहलपहल बढेको पञ्चकोटलाई केही वर्षमै कृषि पर्यटनको गन्तव्य बनाउने थापाले दाबी गरे । २०७२ सालमा नेपाल सरकारले थापालाई नै पहिलो किसान परिचयपत्र पनि दिएको थियो । उनी संलग्न मिर्मिरे कृषि सहकारी संस्थामा अहिले पनि २ सय ५० बढी किसान आवद्ध छन् । थापा २०५७ देखि व्यवसायिक कृषिमा संलग्न छन् ।




