बागलुङ/बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षिय लजिन थापाको आइफोन मोबाइल लुट्ने उदेश्यले आफ्नै साथीबाट हत्या भएको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ पर्नेहरुमा बडिगाड–१ का २० वर्षिय रेमबहादुर विक, सोही ठाउँका १९ वर्षिय सुदिप विक, १६ वर्षिय अशिम वन र १५ वर्षिय ददि परियार छन् ।
शव नभेटिएपनि व्यक्ति वेपत्ता पार्नेमा उनीहरु संलग्न भएको आशंकामा प्रहरीले ५ दिन अघि नै पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकोमा शनिवार मात्र शव भेटिएपछि प्रहरीले उनीहरुलाइ कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले बताए ।
‘‘शनिबार बिहान ४ बजे घर फर्किने क्रममा रेम, ददि र लजिनबीच आइफोनको विषयमा झगडा भएको देखिन्छ’’ प्रहरी उपरिक्षक प्रसाईंले पत्रकार सम्मेलनमा भने, ‘‘आइफोन लुट्ने क्रममा लजिनमाथि मुक्का र ढुंगा प्रहार हुँदा ज्यान गएको देखिन्छ ।’’
गत साउन १ गते शुक्रबार साँझ सोही ठाउँका साथी अशिम वनको जन्मदिन मनाउन भनि घरबाट निस्कीएका बडिगाड गाउँपालिका वडा नं. १ थानका लजिन थापा नौ दिनपछिसोही वडाको मनखोलामा मृत फेला परेका थिए ।
काठमाण्डौंमा ठुलोबाबुसंग बसि साइपल कलेजमा अध्ययन गर्ने लजिन कक्षा ११ को परीक्षा सकेर नागरिकता बनाउने योजनासहित घर आएका थिए । लजिन बोमबहादुर थापा र देउमाया थापाका एक्ला छोरा हुन् । छोराको हत्या भएपछि परिवारमा अहिले रुवाबासी चलेको छ भने गाउँ नै शोकमा डुबेको छ ।





