शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फिर्केखोला करिडोर निर्माण अभियान प्रभावकारी बनाउन महाअभियानको माग

फिर्केखोला करिडोर निर्माण अभियान प्रभावकारी बनाउन महाअभियानको माग

अभियानले पोखरा महानगरपालिकाका वडा नं. १८, २, ४, ५, ६, ७ र १७ हुँदै बग्ने फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको जनाएको छ।


  • ढाेरपाटन संवाददाता
  • साउन १० २०८३, आइतबार

पोखरा / वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला करिडोर निर्माण अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

अभियानले पोखरा महानगरपालिकाका वडा नं. १८, २, ४, ५, ८, ७ र १७ हुँदै बग्ने फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका लागि सञ्चालन गरिएको अभियान अपेक्षित रूपमा सफल हुन नसकेको जनाएको छ। अभियानका अनुसार करिब ८ किलोमिटर लामो फिर्केखोला पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदा हो। जैविक विविधता, वातावरणीय सन्तुलन तथा प्राकृतिक सौन्दर्यका दृष्टिले यसको संरक्षण अपरिहार्य रहेको आइतबार अभियानले गरेको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ।

महाअभियानले विगतमा सञ्चालन गरिएको ‘फिर्केखोला बचाऔँ अभियान’ अन्तर्गत फिर्के–बुलौदीँ खोला सफाइ, जनचेतनामूलक कार्यक्रम तथा करिडोर, पैदलमार्ग र साइकल लेन निर्माणका लागि निरन्तर पहल हुँदै आएको जनाएको छ। तर पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, योजनाविहीन शहरीकरण, फोहोर व्यवस्थापनमा कमजोरी तथा नियमनको अभावले खोलाको प्राकृतिक स्वरूप संकटमा परेको आरोप लगाइएको छ।

नेपाल सरकारको अतिक्रमण हटाउने अभियानअन्तर्गत फिर्केखोलामा पोखरा महानगरले डोजर अभियान सञ्चालन गरेको भए पनि केही दिनमै रोकिँदा अभियान अधुरो बनेको महाअभियानको भनाइ छ। विज्ञप्तिमा वडा नं. ४, ५, ८ र ७ का विभिन्न स्थानमा अझै पनि पक्की संरचना, पर्खाल, टहरा, सामुदायिक भवन तथा अन्य निर्माण पूर्णरूपमा नहटाइएकाले खोला अतिक्रमण यथावत् रहेको उल्लेख गरिएको छ।

महाअभियानले फिर्केखोलाको वास्तविक संरक्षणका लागि सबै अतिक्रमित संरचना निष्पक्ष रूपमा हटाउन, करिडोर निर्माण कार्यलाई निरन्तरता दिन तथा सम्बन्धित निकायलाई प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ। महाअभियानका संयोजक रामबहादुर पौडेल र नागरिक समाजका तर्फबाट प्रवक्ता गोकुलबहादुर कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा वातावरण संरक्षणलाई दीर्घकालीन रूपमा सफल बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा नागरिकबीच समन्वय आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->