पोखरा/ पोखरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो पोखरा तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा –१७ छोरेपाटनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा छोरेपाटन क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा रुपन्देहीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख २०११ नम्बरको बसमा सवार दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका वडा नं। ५ लोदपुर बस्ने ४१ वर्षीय हरिहर लोध र सोही ठाउँकी ५५ वर्षीया रेश्मी लोध रहेका छन्।
प्रहरीले निजहरूका साथबाट डाईजापाम ३९४ एम्पुल, फेनरागन ४०० एम्पुल, र बुप्रिनुर्फिन ३९९ एम्पुल गरी जम्मा १,१९३ एम्पुल लागूऔषध र एउटा मोबाइल सेट बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।





