पोखरा / पोखरा महानगरपालिका–१८ सेदीमा बसोबास गर्दै आएका एक अमेरिकी नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिका घर भई विगत एक महिनादेखि पोखरा–१८ सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्स (राहदानी नं.५७००७०००६०) रहेका छन्।
वडा प्रहरी कार्यालय बैदामका अनुसार आज बिहान करिब ११ बजे बाटोमा हिँड्ने क्रममा जोन्स अचानक बेहोस भई लडेका थिए। स्थानीय इन्द्र थापाले देखेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि ट्याक्सीमार्फत मेट्रोसिटी अस्पताल पुर्याएका थिए।
अस्पताल पुर्याइए पनि उपचारका क्रममा मध्यान्ह १२.३१ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा विशेष टोली घटनास्थलतर्फ परिचालन भएको छ।
प्रहरीले शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम तथा थप जाँचका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको जनाएको छ। घटनाका सम्बन्धमा अन्य थप विवरण आउन बाँकी रहेको र प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।





