पोखरा / लगातारको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा पहिरो जाँदा चार वटा घर तथा गोठमा क्षति पुगेको छ। पहिरोबाट मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा र चौपायामा क्षति पुगेको छ।
प्रहरीका अनुसार शनिबार राति परेको भारी वर्षापछि खसेको पहिरोले स्थानीय प्रेम बानियाँको ढुङ्गा–माटोले बनेको जस्तापाताले छाएको एक तले कच्ची घर पूर्ण रूपमा पुरिएको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाँडाकुँडा सबै पुरिएर नष्ट भएका छन्।
यस्तै, पहिरोकै कारण स्थानीय छानबहादुर क्षेत्रीको घर चर्किएको छ भने करिब तीन रोपनी बारीमा लगाइएको बालीनाली पूर्ण रूपमा नष्ट भएको छ। पहिरोले राजमान विश्वकर्माको बाँस र जस्तापाताले बनाएको गोठ पुरिँदा गोठमा बाँधिएको एक वटा भैँसीको पाडो मरेको छ भने एउटा भैँसी घाइते भएको छ।
यसैगरी पहिरोको उच्च जोखिममा परेका खुसीमाया विश्वकर्मा र पूर्णबहादुर सुनारका एक–एक तले कच्ची घरहरू खाली गराइएको छ। खुसीमायाको खाली कुखुराको खोर भने पहिरोले पुरिएको छ। आइतबार दिउँसो १ बजे घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायव निरीक्षक राजेन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली उद्धार तथा स्थलगत निरीक्षणका लागि खटिएको छ। क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





