बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखराका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

पोखराका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु


  • ढाेरपाटन संवाददाता
  • साउन ११ २०८३, सोमबार

पोखरा / पोखरामा सोमबार भएका छुट्टाछुट्टै दुई घटनामा दुई जनाको मृत्यु भएको छ। पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रममा उपचाररत एक पुरुषको मृत्यु भएको छ भने सोही वडाको चाक्ले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ।

वडा प्रहरी कार्यालय बगरका अनुसार हेम्जास्थित मानव सेवा आश्रमको मेडिकल वार्डमा उपचाररत ३१ वर्षीय लोकबहादुर परियारको सोमबार बिहान ११.३० बजे मृत्यु भएको हो। गत असार १७ गते पोखरा–९ न्युरोडबाट उद्धार गरी आश्रममा ल्याइएका परियार प्यारालाइसिस (पक्षघात) सम्बन्धी समस्याबाट ग्रसित थिए। उनको वतन खुलेको छैन।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा प्रहरी टोली अनुसन्धानका लागि आश्रम पुगेको थियो।

यस्तै, सोमबार दिउँसो १ बजे पोखरा–२५ हेम्जास्थित चाक्ले कुलोको ड्याममा पौडी खेल्ने क्रममा डुबेर म्याग्दीचोक बस्ने २० वर्षीय सञ्जय गोतामे बेपत्ता भएका थिए। घटनालगत्तै अस्थायी प्रहरी पोष्ट हेम्जा र सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा ११ जनाको गोताखोर टोली खोजीमा खटिएको थियो। संयुक्त टोलीले अथक प्रयासपछि दिउँसो २.३० बजे गोतामेको शव ड्यामबाट मृत अवस्थामा बाहिर निकालेको हो।

प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा खटिएको टोलीले घटनास्थल लासजाँच मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->