बागलुङ (खर्वाङ)/अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले जलजलामा गोठसाले घर (घरगोठ एकै ठाउँ भएको) मा क्षति भएपछि लायन्स क्लब अफ बागलुङ बडिगाडले राहत उपलब्ध गराएको छ ।
आइतबार राति पहिरोले बडिगाड गाउँपालिका वडा नं. ४ जलजला नैतुल छापहिलेका दुर्गाबहादुर दर्लामीको गोठसालेमा पुर्ण रुपमा क्षति पुगेको थियो ।
लायन्स बडिगाडका प्रेसिडेन्ट नरिश्वर घिमिरेका अनुसार, लायन्सले जस्तापाता, खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडासहित ३० हजार रुपियाँ बराबरको राहत उपलब्ध गराएको हो । ‘जहाँ समस्या त्यहाँ लायन्स’ अभियानअन्तर्गत वडाध्यक्षको खबरपछि सहयोग वितरण गरिएको घिमिरेले जानकारी दिए ।
पहिरोले मानवीय क्षति नभए पनि घरमा बस्नै नमिल्ने गरी पूर्णरुपमा क्षति पुगेको बडिगाड–४ जलजलाका वडा अध्यक्ष मिलन रेश्मीले जानकारी दिनुभयो । वर्षाले पहिरोको जोखिम बढेपछि राति नै दर्लामी परिवार आफ्नै पुरानो घरमा बसाई सर्दा मानवीय क्षति हुन नपाएको रेश्मीले बताए ।
प्राकृतिक बिपत्तिको पूर्वानुमान गर्दा ठुलो मानवीय क्षति टरेको प्रहरी चौकी खारका प्रमुख प्रहरी साहायक निरीक्षक श्यामसुन्दर शाहले बताए । पहिरोले घर पुरिँदा भएको क्षतिबारे तथ्याङ्क संकलनपछि एकीन हुने शाहको भनाइ छ ।
यसैबीच पहिरोले बडिगाड गाउँपालिका वडा नं. ९ खहरे गाँवको तल्ललो छरछरे खानेपानी आयोजनाको मुहान क्षति पुगेको छ । मुहानमा क्षति पुगेपछि ४५ घरधुरीका खानेपानी उपभोक्ता समस्यामा परेका स्थानीय प्रेम बहादुर विकले जानकारी दिए ।




