शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सुरुङ युग सुरु

सुरुङ युग सुरु

सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८३, मंगलबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं/सडक यातायातमा नेपालको पहिलो सुरुङ मार्ग नागढुंगा सिस्नेखोला टनेल सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । यद्यपि, पहिलो चरणमा अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र यहाँ प्रवेश अनुमति छ ।

परीक्षण कालपछि सुरुङमार्ग सबै प्रकारका सवारी साधनलाई खुला हुने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । पूर्वाधार विकास मन्त्री सुनील लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग सुरुआत गरे ।

जाइका अध्यक्ष तानाकाले यो सुरुङमार्ग नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको जनाए । यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उनको भनाइ छ ।

यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गर्दै अध्यक्ष तानाकाले सात दशकदेखि पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको जनाए । जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण भएको बताए ।

राजदूत माएदाले परियोजनामाबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप तथा उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । आगामी वर्षौंसम्म नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्न सक्ने क्षमता विकास गर्नु नै सहकार्यको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ ।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा नाका दशकौंदेखि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गरे । सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा वर्षौंदेखिको ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने उनको भनाइ छ ।

यो सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । सुरुआती सम्झौताअनुसार आयोजना २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको ढिलाइ, कोभिड–१९ महामारी तथा स्थानीयको अवरोधका कारण निर्माण प्रभावित भएको थियो । विसं २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो ।

सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः १ सय २५ र ८०, बस तथा सिंगल रियर एक्सल ट्रकका लागि २ सय ६० र रु २ सय शुल्क लाग्नेछ । मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६ सय र बाहिरिँदा २ सय ५० दस्तुर निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->