पोखरा/भारतीय दुईपांग्रे निर्माता हिरो मोटोकर्प अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड ‘भिदा’ले नेपालमा औपचारिक रुपमा बिक्री थालेको छ । कम्पनीले नेपालमा विद्युतीय स्कुटर भिदा भिएक्स २ इभिओटर सिरिज तथा युवा लक्षित विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो ।
नेपालमा भिदा सिजी मोटर्स (चौधरी ग्रुप)मार्फत बिक्री गरिनेछ । दुवै स्कुटरमा निकाल्न मिल्ने ब्याट्री, फास्ट चार्जिङ, घरमै सामान्य पाँच एम्पियरको सकेटबाट चार्ज गर्न सकिने सुविधा छ । नेभिगेसन, जियो–फेन्सिङ तथा ओभर–द–एयर सफ्टवेयर अपडेट जस्ता स्मार्ट फिचर समावेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले किशोर तथा युवा राइडरलाई लक्षित गर्दै भिदा डर्ट विद्युतीय अफ रोड बाइक पनि बजारमा ल्याएको छ । यसमा प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार समायोजन गर्न सकिने तथा एपमार्फत सञ्चालन हुने नियन्त्रणको सुविधा छ । कम्पनीका अनुसार बाइकमा तीन वटा स्पिड मोड उपलब्ध छन् ।
एकपटकको चार्जमा प्रयोगको अवस्थाअनुसार करिब ३ घण्टा सञ्चालन गर्न सकिन्छ । हिरो मोटोकर्प अन्तर्गतको व्यापार शाखाकी प्रमुख व्यवसाय अधिकृत कौशल्या नन्दकुमारले नेपालबाट भिदाको अन्तर्राष्ट्रिय यात्रा सुरु हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन् । नेपाल विद्युतीय सवारीका लागि सम्भावना बोकेको बजार भएकाले भारतीय प्रविधिमा विकसित उत्पादन नेपाली ग्राहकसम्म ल्याइएको उनले बताइन् ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल हरित यातायाततर्फ अघि बढिरहेको अवस्थामा भिदाको आगमनले विद्युतीय दुईपांग्रे बजारलाई थप गति दिने विश्वास व्यक्त गरे । हिरो मोटोकर्प सन् २०१४ देखि नेपाली बजारमा सक्रिय छ । कम्पनीले भिदा ब्रान्डमार्फत विद्युतीय सवारी क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै स्मार्ट र दिगो यातायातलाई प्राथमिकतामा राखेको जनाएको छ ।





