शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रातो पुर्जा कहिले आउँछ ?

रातो पुर्जा कहिले आउँछ ?


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८३, मंगलबार

पोखरा/पोखरामा सुकुम्बासीले वडा नम्बर ३३ मा सयौं रोपनी सरकारी जग्गा हडप्नेलाई कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद उत्तम पौडेलसमक्ष माग गरेका छन् । पोखरा ९ स्थित बसपार्कका सुकुम्बासीले कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद पौडेललाई राज्यले सुकुम्बासीलाई मात्र हटाउने तर शक्ति केन्द्रका व्यक्तिले हडपेको जग्गाबारे मौन रहने गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पोखरा बसपार्क निर्माण हुने भएपछि त्यहाँका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई हटाउने पोखरा महानगरपालिकाको योजना छ । महानगरपालिकाले सुकुम्बासीको लगत संकलन गरी प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । सोही क्रममा उनीहरुका कुरा सुन्न पुगेका सांसद पौडेललाई सुकुम्बासीले यस्तो प्रश्न गरेका हुन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका संयोजक प्रेम गुरुङले राज्यले सुकुम्बासीलाई मात्र खेद्ने तर सरकारी जग्गा हड्प्ने व्यक्तिहरुलाई नदेखेको गुनासो गरे ।

‘नेपाल सरकारको नाममा रहेको जग्गामा ५० औं वर्षदेखि बस्दै आएका हामी सुकुम्बासीको जग्गामात्रै अहिलेको सरकारले देखिरहेको छ तर, व्यक्तिले सयौं रोपनी राज्यको जग्गा छुट दर्ताको नाममा आफ्नो बनाउने खेल खेलिरहेका छन्,’ उनले भने, ‘यहीको वडा नम्बर ३३ मा पनि राज्यको जग्गा कब्जा गरेर व्यवसाय सञ्चालन गरिराखेको छ भन्ने सुनियो । खै तिनीहरुलाई कारवाहि गरेको ?’

गुरुङले आफूहरु पोखरा बसपार्क बनाउने कुराको विरोध नभएको तर उचित व्यवस्थापन गरेमात्रै जग्गा खाली गर्ने अडान राखे । उनले राजनीतिक पार्टीहरुले सधैं भोट बैंकका रुपमा प्रयोग गर्दै आएको स्मरण गर्दै अहिलेको सरकारले समस्या सुल्झाउनुपर्नेमा जोड दिए ।

स्थानीय गोमादेवी पराजुली बसपार्क स्थित सबै सुकुम्बासीलाई प्याकेजमै लैजानुपर्नेमा जोड दिन्छिन् । रास्वपा सांसद उत्तम पौडेलले चुनाव अघि आफूले रातो पुर्जा दिने वाचा गरेको नभुलेको बताउँदै अबको तीन÷चार महिनामा पुर्जा लिएर आउने सुनाए ।

सरकारले भूमिहीन सुकुम्बासीका लागि लालपुर्जा दिने तयारी गरिरहेको सुनाउँदै उनले पोखरा बसपार्कबाट विना विकल्प कसैले पनि डोजर चलाउन नमिल्ने उल्लेख गरे । यस्तै महानगरपालिकाले हालैमात्र दाबी विरोध र छुटेको भए सच्च्याउने समय दिएकाले त्यसमा कोही पनि नछुट्न र छुटेको भए तत्काल महानगरमा पुगेर नाम टिपाउनसमेत पौडेलले आग्रह गरे ।

‘राज्यले भूमिको सुनिश्चितता गर्दै छ । विस्तारै देशका विभिन्न ठाउँमा लालपुर्जा वितरण गरिरहेको छ । यो आजको भोलि नै हुने कुरा होइन,’ सांसद पौडेलले भने, ‘तपाईहरुलाई थाहै छ ३०–४० वर्षदेखि संघर्ष गर्नुभएको छ । अहिले महानगरपालिकाले विवरण संकलन गरिरहेको छ, कोही पनि नछुट्नु होला ।’ उनले अबको तीन चार महिनामा जग्गाधनी पुर्जा लिएर आउने वाचा दोहो¥याए । पोखराको पृथ्वीचोकमा वि.सं. २०३२ सालमा अन्तर्राष्ट्रिय स्तरको बसपार्क निर्माणका लागि २ सय ५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->