शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दृष्टिविहीन शिक्षकमाथि बसपार्कमा दुर्व्यवहार

दृष्टिविहीन शिक्षकमाथि बसपार्कमा दुर्व्यवहार

बस भाडामा छुट माग्दा टिकटै नदिई अपमान


  • ढाेरपाटन संवाददाता
  • साउन १२ २०८३, मंगलबार
फाइल तस्विर

पोखरा/  अपांगता भएका नागरिकले पाउनुपर्ने कानुनी अधिकार र भाडा छुटको माग गर्दा पोखरास्थित बागलुङ बसपार्कमा एक दृष्टिविहीन शिक्षकमाथि दुर्व्यवहार भएको छ । बागलुङ नगरपालिका–१० भकुन्डे घर भई हाल पोखराको कुँडहर आधारभूत विद्यालयमा अध्यापनरत दृष्टिविहीन शिक्षक टेकबहादुर थापामाथि टिकट काउन्टरमा दुर्व्यवहार भएको हो ।

थापा १५ वर्षीय छोरा बिधानलाई लिएर साउन १० गते बिहान साढे ९ बजे बागलुङ जान टिकट काट्न काउन्टरमा पुगेका थिए । सरकारी नियम अनुसार अपाङ्गताको ’निलो कार्ड’ वाहकलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था छ । पोखराबाट बागलुङसम्मको तोकिएको ठूलो बसको भाडा ३५० रुपैयाँ रहेकोमा काउन्टरका कर्मचारीले नियम अनुसारको छुट दिन अस्वीकार गर्दै जम्मा ५० रुपैयाँ (करिब १४ प्रतिशत) मात्र छाड्ने बताएका थिए । नियमानुसार पाउनुपर्ने छुट नदिएपछि थापाले ‘सबै नसके पनि कम्तीमा १०० रुपैयाँ मात्र भए पनि छुट दिनुस्’ भन्दा काउन्टरमा रहेका ५÷७ जनाको समूहले उनीमाथि अपशब्द प्रयोग गर्दै उग्र शैलीमा छुट नहुने भन्दै दबाब दिएका थिए ।

नियम अनुसारको छुट दिन नमिल्ने भए लिखित रूपमा दिन आग्रह गर्दा काउन्टरका कर्मचारीले लिखित दिनुको साटो टिकट नै नदिने बताए । कुनै सीप नलागेपछि दृष्टिविहीन शिक्षक थापाले ‘म पूरै भाडा तिर्छु, टिकट दिनुस्’ भन्दा समेत टिकट दिन अस्वीकार गरियो । बरु ‘गाडीमा गएर बस्नुस्, उतै भाडा दिनुस्’ भन्दै गैरजिम्मेवार व्यवहार गरियो ।

प्रक्रियागत विरोध गर्दै थापाले प्रहरीलाई खबर गर्छु भन्दा काउन्टरका कर्मचारीहरूले ’प्रहरीको बाउ र सिडियो ल्याए पनि डराइँदैन’ भनेका थिए । साथमा रहेका कक्षा ९ मा अध्ययनरत १५ वर्षीय छोरा बिधान थापासँग विद्यार्थी परिचयपत्र भए पनि उनलाई समेत कुनै पनि छुट दिन नसकिने भनियो । यति मात्र नभई, बागलुङ जाने ठूलो गाडी नै नभएको भन्दै उनीहरूलाई इभी गाडी चढ्न भनियो । थापाका बाबुछोरा एउटा गाडीमा चढे । तर म्याग्दी जाने गाडी भएकाले हरिचोकमा गएर झरेर अर्को गाडीमा बागलुङ पुगे । टिकट काउन्टरमा एकजना प्रहरी आए पनि कुनै प्रभावकारी सहयोग गर्न नसकेको थापाले बताए ।

बागलुङ पुगेपछि शिक्षक थापाले जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङमा बसपार्कको सिसिटिभी फुटेज छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै लिखित उजुरी दिएका छन् । घट्नास्थल कास्की (पोखरा) परेकाले बागलुङ प्रहरीले उक्त निवेदन जिल्ला ट्राफिक कार्यालय कास्कीमा पठाएको छ । साथै, थापाले राष्ट्रिय मानव अधिकार आयोग र ‘हेलो सरकार’ मा समेत यसबारे औपचारिक जानकारी गराउँदै कारवाहीको माग गरेका छन् । सिसिटिभी फुटेज छानबिन गरी दोषी काउन्टर कर्मचारीलाई कानुन बमोजिम कडा कारबाही गर्न र अपाङ्गता भएका नागरिकको यात्रा सुरक्षा तथा सम्मान सुनिश्चित गर्न पीडितले माग गरेका छन् ।

उनले काउन्टरका कर्मचारीहरुसंग भएको कुराकानीको अडियो पनि उजुरीसंगै पठाएका छन् । त्यसमा उनलाई अन्धोलगायत अपशब्द पनि प्रयोग गरिएको सुन्न सकिन्छ । कास्की ट्राफिक कार्यालयका निमित्त प्रमुख बरिष्ठ सई यमनाथ पनेरुले उजुरी प्राप्त भएको बताए । उनले पीडितले उपलब्ध गराएको अडियो रेकर्डमा सुनिएका आवाजहरुको ‘भेरीफाई’ भइरहेको जनाए । ‘केही नबोली सहयोग गर्नुपर्नेमा त्यत्रो विवाद गर्नुपर्ने अवस्था थिएन’, पनेरुले भने, ‘मुद्धा अनुसन्धान प्रक्रियामा छ ।’

सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूले पाउने कानुनी छुट कार्यान्वयन नहुनु र अधिकार माग्दा नागरिकमाथि यस्तो दुव्र्यवहार हुनु देशैभरको साझा र गम्भीर समस्या बनेको छ । केही समयअघि मात्र पोखराको लेखनाथ क्षेत्रमा अपांगता भएका व्यक्तिलाई नचढाउने बसलाई कारवाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->