बागलुङ/मध्यपहाडी लोकमार्गअन्तर्गत रात्माटादेखि मुलपानी जोड्ने सडकदेखि खसेको पहिरोले बागलुङ नगरपालिका–३ को रुम्टा गाउँका आधा दर्जन घर जोखिममा परेका छन् ।
पहिरोले सिम्ले जाने सडक र रुम्टाका घरहरुमा असर परेको हो । मंगलबार राती खसेको पहिरोले घरमै बस्न जोखिम भएको बागलुङ नगरपालिकाका पुर्व नगरप्रमुख जनकराज पौडेलले बताए । ‘‘पहिरो खसेपछि खरबारी बगेको छ, रुखहरु ढलेका छन्’’ पौडेलले भन्नुभयो, ‘घरमा बस्नै जोखिम छ । खेतबारी पनि पहिरोमा पुरिएको छ ।’’
पहिरोले ७ घरलाई प्रत्यक्ष रुपमा असर परिसकेको पौडेलले बताए । स्थानीय दिपेन्द्र कँडेल सहितका २ घरपरिवार त्रासले बस्नै नसकेर रातीबाटै छिमेकीको घरमा आश्रय लिएर बस्न थालेपछि अन्य स्थानीय पनि त्रसिद बनेका छन् । नियमित माटो खस्ने, पानी परेपछि लेदो झर्ने क्रम नरोकिएपछि जोखिम बढेको हो ।
पहिरोले बागलुङ नगर खानेपानीको पाइपमा पनि असर परेको छ । पाइप फुटेर पानी बग्न थालेको खण्डमा पहिरो बढ्ने भएपछि स्थानीयले तत्काल पाइप व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पनि पाइपमा पानीको लाइन काटेर तत्काल मर्मतको काम थालेको संस्थाका कार्यबहाक अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ले बताए । मर्मतको काम सकेर पानी बितरण पनि नरोक्ने उनले बताए ।
पहिरो प्रभावितले वडा कार्यालय र नगरपालिका तथा प्रहरीमा पनि जानकारी गराएका छन् । सबैको संयुक्त टोलीले पहिरो नियन्त्रण गरेर स्थानीयलाई जोखिमरहित रुपमा बस्ने बनाउन पहल गरेको छ ।





