बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटकलाई जरुरी जानकारी अब क्युआर कोर्डबाट

पर्यटकलाई जरुरी जानकारी अब क्युआर कोर्डबाट

गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा कोर्डको सुरुआत भएको हो ।


  • ढाेरपाटन संवाददाता
  • साउन १३ २०८३, बुधबार

पोखरा/पर्यटकलाई सुरक्षित बनाउँदै पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्डबाट जानकारी दिने प्रणाली सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा कोर्डको सुरुआत भएको हो ।

क्युआर कोर्ड स्क्यान गरी स्वदेशी तथा विदेशी पर्यटकले नेपाल प्रहरीका आपतकालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षासम्बन्धी जानकारी, सम्पर्क विवरण र भ्रमणका सूचनाहरू सहज रूपमा पाउने छन् । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र जिसीले सेवा सुरुआत गरे ।

यसले आकस्मिक अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै यात्रालाई सुरक्षित बनाउन सघाउने अपेक्षा गरिएको छ । यसबारे पर्यटनसँग सम्बन्धित संघ, संस्थाका अध्यक्षहरुसँग अन्तरक्रियासमेत भएको छ । डिआइजी जिसीले पर्यटन क्षेत्रको सुरक्षाका लागि थप प्रहरीसमेत पठाइएको बताए ।

पर्यटकलाई प्रहरीले बिना कारण खानतलासी नगर्ने सुनाउँदै उनले कहिलेकाँही शंकास्पद अवस्थामा मात्रै चेक.जाँच गर्ने गरिएको उनको भनाइ छ । उनले होटल तथा भाडाका कोठामा लामो समय बस्ने व्यक्तिहरूबाट हुन सक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहेको उल्लेख गरे ।

‘प्रहरीले शंकस्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ । होटल व्यवसायी र घरधनीलाई आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनै पनि शंकास्पद गतिविधिका सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गर्दछु,’ उनले भने । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताए ।

पहारीले व्यवसायी र प्रहरीको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने भएकाले यस खालका संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईलेसुरक्षाका लागि सिसी क्यामेरा जडान गर्नुपर्ने विचार राखे ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले पदमार्गहरूका सम्भावित दुर्घटना र आपतकालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्नेमा जोड दिए । होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने प्रवृतिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको जनाए ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले लेकसाइडको फुटट्याकमा कानुन विपरीतका कामहरु हुने गरेको भन्दै त्यस्ता काम रोक्न माग गरे । कार्यक्रमका वक्ताहरुले लेकसाइडमा बेला बेलामा आउने मगन्तेहरु, पार्किङ व्यवस्थापन लगायतका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रालि अध्यक्ष शोभाकान्त पोखरेल, नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्की, एगा पोखरा अध्यक्ष गोकर्ण लम्साल, टेसा पोखराका अध्यक्ष टीकाबहादुर लम्साल, भिटोफ गण्डकी अध्यक्ष रमेश अर्याल, नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी अध्यक्ष रविप्रसाद आचार्य, फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलाराम गिरी, ओटेफ पोखरा अध्यक्ष ममता न्यौपाने, टेवान अध्यक्ष शोभा न्यौपाने लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->