
पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, करुवास्थित सुपरसेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेक भवन बाढी र पहिरोले पूर्ण रूपमा क्षति पुर्याएको छ।
साउन ६ र ७ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सेनाका १५ जना जवान बस्दै आएको प्रिफ्याब र ढुंगाबाट बनेको, जस्ताले छाएको ३ कोठे भवन पुरिएको हो। पहिरोमा १५ जना नेपाली सेनाका लत्ताकपडा र व्यक्तिगत सामानहरू पूर्ण रूपमा नष्ट भएका छन्।
घटनामा कुनै पनि मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाबारे साउन १२ गते दिउँसो ३ बजे प्रहरी चौकी सार्दीखोलामा निवेदन प्राप्त भएको थियो।
निवेदन प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार टिकाराम गुरुङको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।





