बागलुङ/गलकोट नगरपालिकाका असक्त र ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर राष्ट्रिय परिचयपत्र प्रदान गर्न थालिएको छ ।
जनप्रतिनिधि र कर्मचारीको टोलीले घरदैलो गरेर गलकोट नगरपालिका वडा नं. ५ हरिचौर र वडा नं. ६ चरौदीका असक्त र ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेको हो । अन्य नागरिकलाई भने वडा कार्यालयबाटै वितरण गरिएको हो ।
२०७९ सालको राष्ट्रिय परिचयपत्र दर्ता अभियानअन्तर्गत तयार भएका परिचयपत्रहरू वडा कार्यालयको समन्वयमा वितरण गरिएको हरिचौरका वडा अध्यक्ष पवन हमालले जानकारी दिए । साउन ३ देखि ७ गतेसम्म १ हजार १ सय ५० परिचयपत्रमध्ये ८ सय ६० थान वितरण गरिएको छ भने ५० नयाँ दर्ता गरिएको छ ।
‘‘अशक्त तथा घरबाट बाहिर निस्कन नसक्ने ज्येष्ठ नागरिकहरूको सहजताका लागि घरदैलोमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरियो’’ हमालले भने । १ सय ५० परिचयपत्र प्राविधिक कारणले प्राप्त नहुँदा केही सेवाग्राहीलाई सेवा दिन नसकिएको हमालले बताए । नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी वडा कार्यालयबाटै परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएको हो ।
यस्तै गलकोट–६ चरौंदीले पनि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र लिनकै लागि सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै घरदैलोको स्थानीय तहबाट सेवा लिने वातावरण बनाइएको गलकोट–६ चरौंदीका वडा अध्यक्ष रामप्रसाद कँडेलले बताए ।
चरौंदीका ९ सय २९ जनाको राष्ट्रिय परिचयपत्र प्राप्त भएपनि सोमबारसम्म २ सय १४ थान वितरण गरिएको छ । ‘‘स्थानीय सरकारको दायित्व नै नागरिकलाई सहज तरिकाले सेवा पु¥याउनु हो, हामी त्यसमा लागिपरेका छौं’’ कँडेलले भने ।
घरदैलो गरेर परिचयपत्र वितरण गर्दा असक्त र ज्येष्ठ नागरिकहरुले राहतको महशुश गरेका छन् । २०७९ सालमा विवरण संकलन गरिएको र छापिएर आएपछि वडाबाटै परिचयपत्र प्राप्त गर्दा सेवाग्राही खुशी भएको कँडेलको भनाई थियो । परिचपत्रको नयाँ आवेदन भर्ने व्यवस्था समेत वडा कार्यालयबाट गरिएको छ ।





