पोखरा / पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतिक्षा’ नियुक्त भएकी छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाषा तथा साहित्य क्षेत्रकी उनलाई कुलपतिमा नियुक्त गरेका हुन् ।
यसैगरी प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्य क्षेत्रका तिलक पुर्जा पुन मगर र लोकगीत तथा संगीत क्षेत्रका जीवन दाहाल सदस्य सचिवमा नियुक्त भएका छन् । त्यस्तै प्रतिष्ठानको प्रज्ञा परिषद सदस्यमा नृत्यबाट श्रीजंग गुरुङ र फाइन आर्टबाट हरेराम जोजेजु, संगीत तथा वाद्यवादनबाट दिलीप गायक र रंगमञ्च तथा अभिनयबाट प्रमिला ताम्राकार तुलाचन नियुक्त भए । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दोस्रो संशोधन २०८२ अनुसार यी नियुक्ति र मनोनयन गरिएको हो ।
यसैगरी महानगरले १० जनालाई प्रज्ञा सभा सदस्यमा छनोट गरेको छ । उनीहरुमा साहित्यबाट कल्पना चिलवाल र संस्कृतिबाट कृष्णप्रसाद गौतम छन् । नृत्य निर्देशन तथा कलाकारबाट गमबहादुर परियार र फाइन आर्टबाट ज्योति गुरुङ सदस्य बनेका छन् । लेखनाथ साहित्य प्रतिष्ठानबाट नवराज अधिकारी र लोकगीत तथा संगीतबाट प्रेमराज अधिकारी चयन भए । संगीत तथा ब्यान्डबाट भास्करध्वज श्रेष्ठ र साहित्य तथा इतिहासबाट रवीन्द्र माकाजु सदस्य रहेका छन् । साहित्य तथा कलाबाट रिता पहारी र लोक तथा दोहोरी संगीतबाट शिवहरि ढुंगानालाई पनि सभा सदस्य बनाइएको छ ।
मेयर आचार्यले प्रतिष्ठानले पोखराको प्राज्ञिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिनुका साथै प्रतिष्ठानका गतिविधिले महानगरको साहित्य, कला र संस्कृतिको उन्नयनमा मद्दत गर्ने विश्वास लिए । प्रतिष्ठानलाई चुस्त बनाउन पोखरा घरमा व्यवस्थित कार्यालय, कानुनी व्यवस्था र पर्याप्त बजेटको प्रबन्ध गरेको उनले जनाए ।
उपमेयर मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगरको भाषा र सृजनाको विकासमा टेवा पुग्ने बताइन् । उनले भनिन्, ‘महानगरले प्रतिष्ठानका गतिविधि चलायमान बनाउन आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।’ नवनियुक्त कुलपति सरस्वतीले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाइन् ।





