बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरा–४– डिजिटलमैत्री वडा

पोखरा–४– डिजिटलमैत्री वडा

‘स्क्यान गर्दा लोकेसन म्याप र घरधनीको पूरा विवरण देखिन्छ । घर कहाँ हो भनेर कसैले सोध्नुपर्ने हुँदैन ।


  • ढाेरपाटन संवाददाता
  • साउन १५ २०८३, शुक्रबार

पोखरा/  संघीयता कार्यान्वयनपछि २०७४ सालमा तीनै तहको निर्वाचन भयो । सिंहदरबारलाई घरघरमा पु¥याउने संघीयतामा नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । पोखरा महानगरपालिका वडा नम्बर ४ मा ०७४ सालमा निर्वाचित जनप्रतिनिधिले सयौँ वर्ष पुराना ऐतिहासिक घर संरक्षण गर्ने योजनाअघि सारे । जुन पोखराको पुरानो बजारसमेत हो ।

यसले पोखरा महानगरपालिका वडा नम्बर ४, सिद्धार्थचोकदेखि नालाको मुखसम्मको पुरानो बजारलाई प्रवद्र्धन गर्ने थियो । तर कार्यकाल सकियो, सोचेको जति काम हुन सकेन । उता, फिर्केखोलामा रिटेनिङ वाल लगाउने योजना पनि अलपत्र प¥यो । ०७९ सालमा दोस्रो निर्वाचन भयो । त्यो निर्वाचनबाट आउका जनप्रतिनिधिको पनि चार वर्ष बितिसकेको छ ।

वडा कार्यालयले चार वर्षमा यहाँका जानकारी क्युआर कोर्डबाट लिन सकिने बनाएको छ । वडाका हरेक घरमा क्युआर स्क्यानसहित घर नम्बर भेटिन्छ, जहाँ घरको लोकेसन पत्ता लगाउन सहज हुने कोर्ड छ । वडाध्यक्ष देवकृष्ण पराजुली यो वर्ष क्युआर स्क्यान वडाका सबै घरमा टाँसिने बताउँछन् । बजार क्षेत्र भएकाले वडावासीका घर चिन्न निकै कठिन हुने हुँदा डिजिटल प्रविधि प्रयोग गरिएको हो ।

‘स्क्यान गर्दा लोकेसन म्याप र सम्बन्धित घरधनीको पूरा विवरण देखिन्छ । यहाँ आएर घर कहाँ हो भनेर कसैले सोध्नुपर्ने हुँदैन । हाम्रो वडा बजार क्षेत्र भएकाले यहाँ विकासका पूर्वाधार पहिल्यै छन् । हामीले गर्ने भनेकै वडावासीका लागि सहज वातावरण हो,’ उनले भने । वडाले संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि बर्सेनि तीजगीत प्रतियोगिता, यमरी महोत्सव र शिवरात्रि महोत्सव गर्दै आएको छ ।

वडाको सुरक्षाका लागि मुख्य क्षेत्रमा सिसीटिभी क्यामेरासमेत राखिएको छ । वडा व्यापारिक केन्द्र भए पनि पर्यटकलाई लामो समय बिताउने अवस्था अझै छैन । वडाध्यक्ष पराजुली यहाँका पुराना सम्पदा जोगाउने प्रयास भइरहेको सुनाउँछन् । गणेश गुठीमा कलात्मक झ्याल राख्नुका साथै सिद्धार्थचोक–नालामुखसम्म एडिबीको परियोजना आएको उल्लेख गर्छन् । ‘परियोजनासमेत आयो तर, भनेजस्तो हुन सकेन । एडिबी परियोजनाअनुसार नो भेहिकल जोन बनाउनुपर्ने भएकाले त्यो सम्भव भइरहेको छैन,’ उनले भने, ‘सयौँ वर्ष पुराना कलात्मक घरहरू हेर्न आज पनि विदेशी पर्यटक यहाँ आउने गर्छन् तर, उनीहरू बसेर खाने वा भुल्ने ठाउँ यहाँ भएन । त्यसतर्फ हामीले प्रयास गरिरहेका छौँ तर, जति गर्नुपर्ने त्यति गर्न सकिरहेका छैनौं ।’

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा वडा कार्यालय जलेपछि हाल वडाले निर्माण गरेको बहुउद्देश्यीय हलबाट कार्यालय सञ्चालन गरिएको छ । वडाले महिला, दलित, युवा, बालबालिका लक्षित विभिन्न प्रशिक्षण तथा आयआर्जनमूलक कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । वडा सचिव कमला गुरुङ सूत्र प्रणालीको समस्याले राजस्वमा निकै समस्या आउनुबाहेकका काममा नागरिकले गुनासो गर्ने ठाउँ आफूहरूले नदिएको बताइन् ।

वडामा कुनै काम लिएर आउने नागरिकलाई वडाले सामान्य कागजपत्र अपुग भएमा नर्फकाउने गरी काम गरिरहेको छ । ‘काम गर्न सजिलो छ । हामी भरसक सेवाग्राहीलाई काम गराएरै फर्काएका छौँ तर, सूत्र प्रणालीले काम नगर्दा सिस्टम चल्दैन; हामीलाई मात्र होइन सेवाग्राहीलाई समेत त्यसले निकै प्रभाव पारिरहेको छ,’ उनले भनिन् ।

दुई कार्यकाल बिताएकी वडा सदस्य विष्णमाया परियार वडाले नागरिकको जन्मदेखि मृत्युसम्मका अवस्थामा नागरिकलाई साथ दिइरहेको सुनाइन् । दुई कार्यकालमा वडामा निकै परिवर्तन आएको उनको अनुभव छ । ‘पहिलो कार्यकालमा निर्वाचित भएर आउँदा हामीलाई स्थानीय तहको काम, कर्तव्य र अधिकारकै विषयमा जान्दा–बुझ्दा ठीक भयो । दोस्रो कार्यकालमा आउनुभएका निर्वाचित अन्य साथीहरूलाई पनि काम गर्न सहज भयो,’ उनले भनिन् ।

वडाले महिला तथा दलितका लागि आयआर्जनमूलक विभिन्न तालिम सञ्चालन गरेको छ । यो कार्यक्रममा यो वर्षसमेत बजेट विनियोजन भएको परियार बताउँछिन् । वडाले एकमात्र सरकारी विद्यालय नवीन माविमा सुविधासम्पन्न सभाहल निर्माणदेखि त्यहाँ पढ्ने गरिब तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । तर, वडाले ढल व्यवस्थापनका लागि भने सार्थक पहल गर्न सकेको छैन । वडाध्यक्ष पराजुली वडामा ढल व्यवस्थापन चुनौतिपूर्ण भएको जनाउँदै त्यसलाई योजनावद्ध रुपमा सुल्झाउनुपर्ने सुनाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->