बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बाढीपहिरो, सामाजिक सद्भाव र जनजीविकाका सवालमा सांसदहरूको ध्यानाकर्षण

बाढीपहिरो, सामाजिक सद्भाव र जनजीविकाका सवालमा सांसदहरूको ध्यानाकर्षण


  • ढाेरपाटन संवाददाता
  • साउन १५ २०८३, शुक्रबार

पोखरा / गण्डकी प्रदेशका सांसदहरुले प्रदेशका विभिन्न जिल्लामा गएको बाढीपहिरोको क्षति, सामाजिक सद्भावको स्थिति लगायत विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरु शुक्रबारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै थिए ।

कांग्रेस सांसद कल्पना तिवारीले स्याङ्जाको गल्याङ–६ पिडीखोलामा पहिरोले धनबहादुर रेश्मीको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत दिन माग गरिन् । सांसद भोजराज अर्यालले बाढीपहिरोले गल्याङकै प्रतिष्ठित नरोदय माविको भवन, शौचालय र खेलमैदानमा ठूलो क्षति पु¥याई विद्यालय बन्द भएको भन्दै पठनपाठन सुरु हुनुअघि नै मर्मत गर्न आग्रह गरे । त्यस्तै, सांसद महेश भट्टराईले पनि मृत रेश्मीको परिवारलाई राहत दिनुका साथै पहिरोले बगाएको ५० रोपनी जग्गा र सिँचाइ प्रणाली संरक्षणका लागि बजेट व्यवस्था गर्न माग गरे ।

लमजुङको मध्यनेपाल–७ भाटबेसीमा एकैपरिवारका दुई जनाको ज्यान गएको घटनाप्रति सांसद टीकाकुमारी बस्यालले दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनःस्थापनाका लागि उद्धार टोली र कोष समयमै परिचालन गर्नुपर्नेमा जोड दिइन् । म्याग्दीका सांसद रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले असार ११ मा बेनी–३ मा बाढीपहिरोले लालबीर छन्त्यालको मृत्यु भएको र अन्नपूर्ण–७ दोसल्लेमा भिर चर्किएर ९ घर विस्थापित भएको भन्दै क्षतिपूर्ति र सडक मर्मतको माग गरे । उनीहरुले म्याग्दीमा जन्मेका प्रसिद्ध पर्वतारोही हिमपहिरोमा सम्पर्कविहीन भएकाले सकुशल उद्धारका लागि संघीय सरकारले पहल गर्नुपर्ने बताए ।

धार्मिक असहिष्णुता र सामाजिक सद्भावप्रति चिन्ता
देशका पूर्वी जिल्लाहरू (सुनसरी, धनुषा, सिराहालगायत) मा बढेको धार्मिक असहिष्णुता र हिंसात्मक घटनाप्रति सांसदहरूले चिन्ता व्यक्त गरे । सांसद कल्पना तिवारी, बिन्दु पौडेल र सीताकुमारी सुन्दासले परापूर्वकालदेखि कायम सामाजिक सद्भाव र सहिष्णुता खलबलिएको भन्दै धनुषाको एक मन्दिरमा भएको हत्या र सुनसरी घटनाको भत्र्सना गरे । उनीहरुले देश द्वन्द्वमा जान सक्ने खतरा औंल्याउँदै अन्तर–प्रदेश समन्वय र संघ सरकारसँग सहकार्य गरी शान्ति सुरक्षा कायम गर्न पहल गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, सांसद फणिन्द्र देवकोटाले बाढीपहिरो, राजनीतिक संक्रमण र पूर्वी नेपालको अशान्त वातावरणका बिच प्रदेश सभाले सकारात्मक सोचका साथ राष्ट्रिय एकता र जनताको पक्षमा कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सांसद दमयन्ती रुचालले सरकार गठन भएको चार महिना भइसक्दा पनि सुकुम्बासी, साना व्यापारी र गरीब जनताको बिचल्ली भएको बताइन् । महँगी, बेरोजगारी, वैदेशिक ऋण र करको भारले थिचिएर युवाहरूले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले प्रशासनिक निकायको अपमानजनक व्यवहार र हिंसात्मक वातावरण रोक्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद चम्पादेवी खड्काले धौलागिरी आयुर्वेदिक अस्पताल बागलुङको स्तरोन्नति, पूर्वाधार निर्माण र उपकरण थप्न माग गरिन । सांसद श्यामराजा महतले दुलेगौंडा–हर्कपुर सडकखण्ड पटक–पटक कुरा उठाउँदा पनि मर्मत नभई हिलाम्मे बनेकाले लापरवाह ठेकेदारसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->