बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजलासले आर्थिक वर्ष २०८२/०८३ मा २ सय ८२ मुद्दा फछ्र्यौट गरेको छ । ३ सय ७१ मुद्दामा ७६ प्रतिशत फछ्र्यौट गरेर सर्वोच्च अदालतले दिएको लक्ष्य पुरा गरेको हो ।
सर्वोच्च अदालतले उच्च अदालतहरुमा ६५ प्रतिशत मुद्दा फछ्र्याैट गर्न लक्ष्य निर्धारण गरेको थियो । उक्त लक्ष्यभन्दा अगाडि बढेर ७६ प्रतिशत प्रगती भएको रजिष्ट्रार रामबहादुर थापा क्षेत्रीले जानकारी दिए । गत असार मसान्त सम्ममा दर्ता भएकामध्ये ८९ मुद्दा चालु वर्षका लागि सरेर आएका छन् ।
जिल्ला अदालतमा वर्षभरीमा ५ सयदेखि ६ सयसम्म मुद्दा फछ्र्यौट गर्न सकिने भएपनि उच्च अदालतमा दुइ जना न्यायाधिसको इजलासले मात्र फैसला गर्न सक्ने भएकोले थोरै मुद्दा फछ्र्याैट हुने गर्छ । थापा क्षेत्रीका अनुसार गत आ.व.मा सबैभन्दा धेरै कर्तव्य ज्यानका ३७ मुद्दा परेकोमा २९ फछ्र्यौट भइ ८ वटा बाँकी छन् । त्यस्तै जबरजस्ती करणीका २५ मुद्दा परेकोमा १८ फैसला भइ ७ बाँकी छन् ।
अदालतमा उत्प्रेषण २८ वटा, परमादेश २५ वटा र बन्दी प्रत्यक्षीकरण ३ वटा परेका थिए । अदालतमा जालसाँजका १३, चेक अनादरका १४, सम्बन्ध बिच्छेदका १६, अंशबण्डाका १७, लेनदेनका १७ र अंशका ३ वटा मुद्दा पनि परेका थिए ।
फौजदारीतर्फ हाडनाता करणीमा ९ वटा, जबरजस्ती करणी उद्योगका ९ वटा र अपहरण तथा शरीर बन्धक कसुरको १ मुद्दा थिए । बन्दी प्रत्यक्षीकरण ३ भएपनि निशेधाज्ञा १२ वटा, परमादेश २५ र उत्प्रेषण २८ वटा परेका थिए । देवानीतर्फ लिखत बदरका १८ मुद्दा परेकोमा ३ वटा मात्रै फछ्र्यौट हुन बाँकी छन् ।
गत भदौमा भएको जेनजी आन्दोलनपछि सर्वोच्च अदालतसहित देशभरका धेरै अदालतमा आगजनी भएपछि मिसिल जल्दा कतिपय मुद्दामा असर परेको थियो । सोही समयमा म्याद बुझाउन समय थप भएको, अदालत लामो समय खुल्न नसकेको, गत फागुनमा निर्वाचन परेकोले कर्मचारी खटनपटनका कारण पनि काम प्रभावित भएकोकारण मुद्दाको संख्या कमी, फछ्र्यौटमा पनि समस्या परेको मुख्य न्यायाधिस नातीबाबु लामिछानेले बताए ।
उनले अदालतमा आउने मुद्दा कम हुनुलाई राम्रो मानिए पनि कतिपय आउनै पर्ने मुद्दाहरु आउन नसकेको पनि बताए । जिल्ला तहको फैसला उपर आउने भएकोले तुलनात्मक रुपमा ढीला हुने समेत उनको भनाइ छ ।
बिहिबार पत्रकार सम्मेलन गरेर अदालतले अघिल्लो वर्षको समीक्षा र आगामी कार्ययोजनाबारे पनि जानकारी गराएको थियो । जस अनुसार चालु वर्षका लागि ३ सय ६८ लगत रहने र सरेका ८९ गरी ४ सय ५७ मुद्दाको लक्ष्य रहेको बताइएको छ । ती मध्ये आगामी वर्ष ३ सय १ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य छ । गत आ.व..मै १ सय ९६ वटा निवेदन परेकोमा अदालतले शत प्रतिशत फछ्र्यौट गरेको समेत बताइएको छ । अदालतमा ६ महिनाभित्र सक्ने सरल मार्ग, १२ महिनाभित्र सक्ने सामान्य मार्ग र डेढ वर्षमा सक्ने विशेष मार्गमा मुद्दा रहने गरेको पनि थापाले जानकारी गराए ।
साथै बिहिबारै अदालतले उच्च अदालत बार एसोसिएसनसँग पनि अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रियामा अदालतको काम कारवाहीप्रति बारमार्फत सुझाव पनि माग गरिएको थियो । बार अध्यक्ष गीता श्रीष, वरिष्ठ अधिवक्ताहरु समेतले अदालतमा अहिले सम्म भएका काम बारे समीक्षा गरेका थिए ।




