पोखरा/पोखराको मासवार स्थित मदरल्यान्ड माविले नमुना युएन (संयुक्त राष्ट्र संघ) सभा आयोजना गरेको छ । विद्यालय तहका विद्यार्थी सहभागि मदरल्याण्ड नमूना युएन सभामा भाग लिन कास्कीसहित ६ जिल्लाका विद्यार्थी पोखरा आएका छन् ।
विद्यालयले आयोजना गरेको यो आठौं नमूना सभा हो । योसभामा विभिन्न विषयमा २ दिनसम्म बहस हुनेछ । मदरल्यान्ड माविको आयोजना र नेपाल–अमेरिका अलुम्नाई नेटवर्क (नुसान)को संयोजनमा भएको कार्यक्रममा कक्षा १२ सम्मका विद्यार्थी सहभागी छन् । उनीहरुले विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै युएनको यो नमूना बैठकमा सहभागिता जनाउने कार्यक्रम संयोजक बामन घिमिरेले जानकारी दिए ।
‘विद्यालय तहका विद्यार्थीमा युएन सभाको शैलीबारे जानकारी दिलाउन खोजिएको हो । युएनको सभामा कस्ता विषयले प्राथमिकता पाउँछन् र त्यो सभामा के कस्ता कुराकानी हुन्छ ? हामीले विद्यार्थीलाई उक्त विषयको महत्वबारे जानकारी दिन खोजेका हौं,’ उनले भने । करिब तीन सय विद्यार्थीलाई ८ समूहमा विभक्त गरी यो अभ्यास गराइने छ । नेतृत्वको जिम्मेवारी, एकअर्कामा समझदारी, विषयवस्तुप्रतिको गाम्भीर्यबारे बैठकका अभ्यास हुने उनले बताए ।
नुसान गण्डकी संयोजक विभूति न्यौपानेले यो अभ्यासले विद्यार्थीमा रहेको ज्ञान साटासाट गर्ने अवसर मिल्ने बताइन् । ‘विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै विद्यार्थीले सहभागिता जनाउँदा ज्ञानको दायरा फराकिलो बन्छ,’ उनले भनिन् । नुसानका सदस्य दीपेन्द्र श्रेष्ठले कलिलो उमेरमा युएनको अनुभव लिन पाउने यो मौका विद्यार्थीका लागि निकै नै महत्वपूर्ण रहेको बताए ।
‘युएनको बैठक कसरी सञ्चालन हुन्छ र त्यहाँ कस्ता विषयका बहस हुन्छ भन्ने थाहा पाउनु निकै महत्वपूर्ण हो । यसले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमतासमेत विकास हुन्छ,’ उनले भने । अर्का सदस्य सन्तोष पौडेलले युवा पुस्तालाई चासो नै नभएको यस्तो विषयबारे नमूना सभामार्फत ज्ञान दिलाउन प्रयास गरिएको बताए ।
गत माघमा मदरल्यान्ड माविका ६ विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमुना सभामा भाग लिएका थिए । राष्ट्रसंघकै सभाको शैलीमा आयोजना भएको त्यो नमुना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र छनोटमा परेको थियो । पोखरामा भएको यनमूना सभाले विद्यार्थीमा विश्वव्यापी विषयबारे ज्ञान हुने विद्यालयका निर्देशक डा त्रिभुवन शर्माले बताए । ‘विश्वव्यापी समस्या कसरी समाधान हुन्छ, सम्मेलनमा कुनै विषयवस्तुमाथि कसरी छलफल गरिन्छ, कसरी सहमति हुन्छ जस्ता विषयलाई विद्यार्थीले यो सभामार्फत बुझन पाउनेछन्,’ शर्माले भने, ‘कुटनीति सिकाउने माध्यम यस्तै हो । देशको नेतृत्वले कसरी कुटनीतिक सम्बन्ध स्थापित गर्छन भन्ने तरिका पनि यहाँ सिक्न पाउनेछन् ।’
विद्यालयका प्राचार्य डा नारायण बरालले विद्यार्थीलाई कक्षाकोठाले परीक्षाका लागि तयार पार्ने भएप नि मदरल्याण्डले विद्यार्थीमा जीवनका लागि सीप सिकाउने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गरेको बताए । बरालले भने, ‘कक्षाकोठाको पाठ्यभारमात्र पर्याप्त नहुन सक्छ । त्यसलाई व्यवहारमा सिकाउन पनि यस्ता अभ्यास जरुरी छ ।’
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विद्यार्थीका लागि यो अभ्यास नौलो रहेको बताए । ‘विद्यालयले धेरै वटा मोडालिटीमा कार्यक्रम गर्छ । तर, यो बहस सबैतिर हुँदैन,’ उनले भने । पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमता विस्तारका लागि यस्तो अभ्यास जरुरी रहेको बताए ।




