शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा फेरि बल्यो ट्राफिक लाइट

पोखरामा फेरि बल्यो ट्राफिक लाइट


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८३, आइतबार

पोखरा/एक सातायता पोखराको मुख्य बजार क्षेत्र पृथ्वीचोक, सिर्जनाचोक र विराैटाचोकमा ट्राफिक लाइट बल्न थालेको छ । पोखराको व्यस्त बजारको ट्राफिक व्यवस्थापनका लागि ३ वर्षअघिबाट मात्रै ट्राफिक लाइट गरिएको थियो । तर, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ट्राफिक लाइट फोडियो । त्यसपछि लामो समय ट्राफिक लाइट बल्न सकेको थिएन ।

यसअघि तत्कालीन पोखरा उपमहानगरपालिका हुँदा पोखरामा ट्राफिक लाइट जडान गरिएको थियो । २०५६ सालमा तत्कालीन उपमहानगरपालिकाका मेयर कृष्ण थापाले पोखराका विभिन्न चोकमा ट्राफिक लाइट जोड्न पहल गरेका थिए । पोखरा कमर्सियल अटो पार्किङ (पिक्याप) सँगको साझेदारीमा पोखरामा ट्राफिक लाइट जोडिएको थियो ।

पिक्याप पोखराको सडकमा पार्किङ शुल्क उठाउने ठेकेदार कम्पनी थियो । जोडिएका ट्राफिक लाइट नियमित मर्मत अभावमा बिग्रिए भने कुनै तत्कालीन जनआन्दोलनका क्रममा फुटाइएपछि बेवारिसे बने । त्यसपछि ०७५ सालमा सडक विभागले पोखराका विभिन्न ठाउँमा लाइट जोड्न अध्ययनअघि बढाएको थियो । पोखराका १० चोकमा ट्राफिक लाइट जोड्न सडक विभाग र पोखरा महानगरले ४ वर्षअघि नै संयुक्त अध्ययन गरेका थिए ।

०७८ कात्तिकमा पोखराका २६ ठाउँमा ट्राफिक लाइट जोड्न महानगरसँग विभागले सम्झौता गरेको थियो । विभागले पोखराका मुख्य पाँच चोकमा ट्राफिक लाइट राखिसकेको छ । पहिलो चरणमा पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, महेन्द्रपुल, जिरो किलोमिटर र विरौटा चोकमा लाइट जडान गरिएको हो । पाँच ठाउँमा ट्राफिक लाइट राख्नेका लागि सडक विभागले १ करोड २६ लाखमा ठेक्का लिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी यामनाथ पनेरु जेनजी आन्दोलनको क्रममा तोडफोड हुँदा सञ्चालनमा आएको ट्राफिक लाइट पुनः बन्द भएको बताउँछन् । अहिले फेरि सञ्चालनमा ल्याइएको र केही समय चालक र पैदलयात्रुलाई ट्राफिक लाइटबारे अभ्यस्त हुन समय लाग्ने उनी बताउँछन् ।

‘चालकहरु अहिले पनि ट्राफिक लाइट नहेरी जानुहुन्छ हामीले केही समयका लागि उहाँहरुलाई लाइटका बारेमा जानकारी गराउने काम गरिरहेका छौं । तत्का उहाँहरुलाई कारवाही हुँदैन’ उनले भने, ‘पोखराक तीन स्थानमा अहिले सञ्चालनमा छ । तर, अझै पैदलयात्रुका लागि राखिएको लाइटमा समस्या बाँकी छ, सबै लाइट राम्ररी सञ्चालनमा आउन केही समय लाग्ला ।’ ट्राफिक लाइट सञ्चालनमा आएसँगै ट्राफिक प्रहरीले चोकमा बसेर इशारामा सवारी आउजाउ गर्ने क्रम कम हुनेछ ।

पोखरामा कम जनशक्ति भएको अवस्थामा लाइटले ठूलो भूमिका खेल्ने पनेरुको भनाइ छ । सडक डिभिजन पोखराका प्रमुख सिनियर डिभिजन इन्जिनियर कृष्णराज अधिकारीले ट्राफिक लाइट जेनजी आन्दोलनको क्रममा क्षति पुगेपछि अहिले परीक्षण गरी पुनः सञ्चालनमा ल्याएको बताए । ‘यो सबै केन्द्रबाटै हेरिरहेको छ । निर्माण कम्पनीका विज्ञहरुले कहाँ के बिग्रिएको छ, त्यो अनुसार मर्मत गरिरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->