पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पालिका तथा वडा संरचना, सीमाना हेरफेर, वर्गीकरण र पुनरावलोकनसम्बन्धी सर्वदलीय बैठक भएको छ । गाउँपालिकामा सक्रिय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी बैठकमा स्थानीय तहको संरचनागत पुनर्संरचना र सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो ।
छलफलमा पालिकाले घान्दु्रक र सल्यानमा वडा थप्ने प्रस्ताव अघि सारेको छ । कार्यपालिकाबाटै अनुमोदन गरिएको उक्त प्रस्तावमाथि सहभागीबीच छलफल भएको हो । सहभागीले स्थानीय आवश्यकता, भौगोलिक अवस्था र जनसंख्याको वितरणलाई आधार मानेर संरचना तथा सीमाना निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए ।
सेवा प्रवाहलाई सहज, प्रभावकारी र जनमुखी बनाउने गरी हेरफेर आवश्यक रहेको धारणा अधिकांशको थियो । सहभागी दलका प्रतिनिधिहरूले संरचना पुनरावलोकन जस्तो संवेदनशील विषयमा सर्वसम्मत र सहमतिपूर्ण निर्णयमा पुग्नुपर्ने आवश्यकता औंल्याए । उनीहरुले आगामी दिनमा थप छलफल र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाए ।
गाउँपालिकाले भने यस प्रक्रियालाई पारदर्शी र सहभागितामूलक बनाउँदै सरोकारवाला निकायसँग सहकार्य गरी आवश्यक निर्णयमा पुग्ने जनाएको छ । अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले पालिकाभित्र नमिलेका वडालाई मिलाउने र पायक पर्ने किसिमले वडा थप्नेबारे छलफल भएको जानकारी दिइन् ।
‘यो खालि प्रस्तावमात्रै हो । जनप्रतिनिधि, राजनीतिक दल र समस्यामा परेका वडाका नागरिक यो विषयमा खुसी छन् । तर, हामीले मात्रै भनेर हुँदैन । केन्द्रबाटै यसबारेमा अनुगमन हुने हो र निर्णय हुने हो,’ उनी भन्छिन्, ‘त्यसैले हामीले प्रस्तावमात्रै गर्ने काम ग¥यौं ।’ साविकको घान्दु्रक गाविस र सल्यान गाविसमा ३–३ वटा वडा बनाउने प्रस्ताव गरिएको उनको भनाइ छ ।
‘हामीले कार्यपालिकाबाट पनि अनुमोदन गरेका छौं । अब के परिपत्र आउँछ, त्यही अनुसार हुन्छ,’ उपाध्यक्ष अधिकारीको भनाइ छ । साविकको घान्दु्रक गाविसलाई हाल दुई वटा वडामा विभाजन गरिएको छ । घान्दु्रक अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्छ । ती दुई वडालाई टुक्र्याएर तीन वटा बनाउने प्रस्ताव गरिएको हो ।
उता, हाल ४ र ५ नम्बर वडा बनेको साविकको सल्यान गाविसलाई समेत ३ वटा वडामा विभागजन गर्ने प्रस्ताव गरिएको हो । यी वडाहरु ठूला र वडा कार्यालयसम्म नागरिकलाई पुग्न निकै कठिन भएका कारणले हेरफेर गर्नुपर्ने बताइएको छ । ‘हामी जनप्रतिनिधिले नागरिकका लागि नै काम गर्ने हो । उहाँहरुलाई वडामा आउनै सकस छ । भूगोल मिलेको छैन, यो मिलाउनुपर्छ भन्नेमा दुई मत छैन’ उपाध्यक्ष देवकोटाले थपिन्, ‘जनताबाट खासै हामीलाई पायक नपर्नेले यता लगिदियो हुन्थ्यो भन्ने स्वरहरु आएका छन् । हाम्रो प्रस्तावमा उहाँहरु खुसी हुनुहुन्छ ।’
कास्कीका ५ पालिकामध्ये अन्नपूर्ण गाउँपालिकाको क्षेत्रफल ४ सय १७.७४ वर्ग किलोमिटर छ । यस गाउँपालिकामा ११ वटा वडा छन् र राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको कुल जनसंख्य २२ हजार ९९ छ । कास्कीका साविक ढिकुरपोखरी, भदौरेतमागी (१ र २), सल्यान, लुम्ले, दाङसिङ र घान्द्रुक गाउँ विकास समितिहरू मिलेर यो गाउँपालिका बनेको हो । स्थानीयबीच पालिकाको केन्द्रबारे विवाद हुँदा अहिलेसम्म यसको प्रमुख प्रशासकीय भवन बन्न सकेको छैन ।





