
पोखरा/ चितुवाजस्तो देखिने जंगली जनावरको आक्रमणबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ लेककुना मिलन टोलका २९ वर्षीय बिक्रम गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार बिहान २ बजेको समयमा गुरुङको घरमा पालेको कुकुरलाई जंगली जनावरले आक्रमण गरेको थियो ।
आक्रमणपछि कुकुर कराएको र किन करायो भनि बाहिर निस्केका बेला उक्त जंगली जनावरले विक्रमलाई समेत आक्रमण गरेको थियो । गुरुङको बायाँ हात र बायाँ आँखा नजिकै चोट लागेर घाइते भएका थिए । घटनाबारे थाहा पाउनसाथ प्रहरी चौकी धम्पुसबाट प्रहरी सहायक निरीक्षक बसन्त पौडेलको कमाण्डमा ३ जनाको टोली खटि घाईते गुरुङलाई उपचारको लागी फिस्टेल अस्पताल पठाइएको थियो । उनी मध्यान्हतिर उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।





