बागलुङ/एउटा नागरिकले कुनै समस्या परेमा गाउँपालिकाको न्यायिक समितिमा कसरी निवेदन लिएर जान सक्छ भन्ने जानकारी दिने र पालिकाले गरेका कामको प्रकृति प्रष्ट्याउने गरी काठेखोला गाउँपालिकाले ‘न्यायिक सन्देश’ नामक पुस्तक प्रकाशित गरेको छ ।
न्यायिक समितिले प्रकाशन गरेको उक्त पुस्तक सोमबार गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलसहित वडा अध्यक्षहरुले संयुक्त रुपमा विमोचन गरे ।
पुस्तक विमोचन गर्दै अध्यक्ष थापाले न्यायिक क्षेत्रको प्रगती विवरण देखिने तथा आगामी दिनमा काम गर्न पनि सहज हुने दस्तावेज राखेर प्रकाशित पुस्तक गाउँपालिकाको सम्पत्ति बनेको बताए । गत बैसाखमा काठेखोलाले आयोजना गरेको तेस्रो न्यायिक सम्मेलन तथा बेलढुंगा घोषणापत्र समेतलाई पुस्तकमा समावेश गरिएको छ ।
तेस्रो न्यायिक सम्मेलनले तय गरेका दिशा निर्देश तथा न्यायिक समितिको काम कर्तव्य अधिकारबारे पुस्तकमा समावेश भएको न्यायिक सहजकर्ता महेन्द्रप्रसाद कँडेलले बताए ।
उनका अनुसार पुस्तकमा स्थानीय सरकार संचालन ऐनको दफा ४७ (१) र (२) ले व्यवस्था गरेका सबै कार्य गर्दा चाहिने अनुसूचिको ढाँचा समेत उक्त पुस्तकमा समावेश गरिएको छ । विशेषगरी निवेदन, प्रतिउत्तर पत्र, साझी, म्याद तामेली, वकपत्र लगायतका सबै प्रकारका कार्यविधिलाई समावेश गरिएकोले हरेक नागरिकलाई उपयोगी बनेको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक तेजबहादुर थापाले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले बेलढुगा सम्मेलनको निष्कर्ष समेत समावेश भएकोले न्यायिक जिल्ला सम्मेलनको औपचारिक दस्तावेज बनेको बताए । उक्त सममेलन प्रशासकीय, व्यवस्थापकीय र पर्यटकीय दृष्टीले महत्वपुर्ण बनेको स्मरण गराए । पालिका भित्रको महत्वपुर्ण पर्यटकीय गन्तव्यको प्रचार भएको, उत्कृष्ट व्यवस्थापनका कारण सम्मेलन सफल भएको कारण पुस्तक जन्मेको उनको भनाइ थियो ।
पुस्तकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेल र गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जिवी शर्मा पौडेलले पनि शुभकामना दिएका छन् । लेख रचना, न्यायिक समिति र मेलमिलाप सम्बन्धी कविता, तथ्य र तथ्यांक समेत समावेश गरेर पुस्तक तयार गरिएको छ ।
पुस्तकमा बागलुङको दशवटै स्थानीय तहले सम्पादन गरेका मुद्दाको संख्या, प्रकृतिबारे पनि उल्लेख छ । सबै पालिकाका वडा तहमा रहेका मेलमिलापकर्ताको नाम सहितको विवरण र उनीहरुको शैक्षिक योग्यता पनि जानकारी गराइएको छ ।
पुस्तक विमोचन कार्यक्रममा वडा नं. ६ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य बृहस्पति शर्मा कँडेल, सदस्य चित्रा थापा, प्रशासकीय अधिकृत प्रकाश पौडेल, कार्यपालिका सदस्य गिता बिकले शुभकामना दिए । अधिवक्ता तथा पत्रकार प्रकाश बरालले पुस्तकको समीक्षा गरेका थिए ।
न्यायिक समितिका संयोजक तेजबहादुर थापाको अध्यक्षता, न्यायिक सहजकर्ता महेन्द्र कँडेलको संचालन र न्यायिक समितिकी सदस्य चित्रा थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा न्यायिक सम्मेलन सफल पार्न सहयोग गर्ने स्वयंसेवक, नेपाल स्काउट, उपसमितिका पदाधिकारी लगायतलाई सम्मान समेत गरिएको गाउँपालिकाका प्रवक्ता टिका संगम बिकले जानकारी दिए ।





