बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अली मियाँको सम्झना

अली मियाँको सम्झना

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राडाकुशुमाकर न्यौपाने, अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले कृति सार्वजनिक गरे ।


  • ढाेरपाटन संवाददाता
  • साउन १९ २०८३, मंगलबार

पोखरा/लोककवि अली मियाँको २० स्मृति दिवस सोमबार उनको जन्मथलो पोखरामा मनाइएको छ । पोखरा–१३, कुँडहरमा वि. सं. १९७५ फागुन १५ गते जन्मिएका मियाँको २०६३ साउन १८ गते निधन भएको थियो ।

घरैमा स्वअध्ययन गरेका मियाँका न्याउलीको पुकार, सेतीको सुस्केरा, अली मियाँको आवाज, पहाडको उद्गार, सम्झनाको दीयो, उज्यालो भइसक्यो लगायतका कृति प्रकाशित छन् । अली मियाँ वाङ्मय प्रतिष्ठानले स्थानीय संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा साहित्यकार आकाश अधिकारीका २ कृति सार्वजनिक गरियो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राडाकुशुमाकर न्यौपाने, अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले कृति सार्वजनिक गरेका हुन् । अधिकारीद्वारा लिखित ‘जादुमयी पखेटा’ (बाल निबन्ध सङ्ग्रह) र ‘चेतनाको चिराग’ (बाल नाटक सङ्ग्रह) बजारमा आएका हुन् ।

कार्यक्रममा कुलपति न्यौपानेले लोककवि नेपाली लोकसाहित्यका साझा सम्पदा भएको उल्लेख गर्दै उहाँका सिर्जनाले नेपाली समाजमा सांस्कृतिक सद्भाव, मानवीय मूल्य र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेको बताए । उनी भन्छन्, ‘यस्ता दिवसले नयाँ पुस्तालाई आफ्ना साहित्यिक तथा सांस्कृतिक धरोहरसँग जोड्छन् । अली मियाँ धार्मिक सहिष्णुताका नमुना पनि हुनुहुन्थ्यो ।’

पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले महानगरको प्रतिष्ठानलाई नमुना बनाउने गरी काम गर्ने वाचा गरिन् । ‘बल्ल काम सुरु गरेका छौं, यतिको मान्छे पठाउँदा ठीकै गरेछौं भन्ने बनाउँछौं,’ उनले भनिन्, ‘अहिले त हामी नयाँ छौं, यहाँहरुको अपेक्षा पूरा गर्ने इमान्दार प्रयास गर्छाैं ।”

साहित्यकार अधिकारीले कृतिले बालबालिकामा सिर्जनशीलता, नैतिक चेतना, कल्पनाशीलता र सकारात्मक जीवनदृष्टि विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गायिका अम्बिका भण्डारीले अली मियाँको गीत सुनाइन् । कार्यक्रमका वक्ताहरूले लोकवितको साहित्यिक योगदानबारे चर्चासमेत गरेका थिए ।

समारोहमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरुलाई सम्मानसमेत गरिएको थियो । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले लोकसाहित्य र लोकगीतको प्रवर्धन नै लोककविको वास्तविक सम्मान हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->