बिहिबार, साउन २८ २०८३

बिहिबार, साउन २८ २०८३
  • २८ साउन २०८३ , बिहिबार
  • August 13 2026

अनेरास्ववियु कास्कीको २४औँ अधिवेशनमा धाँधलीको आरोप

अनेरास्ववियु कास्कीको २४औँ अधिवेशनमा धाँधलीको आरोप

निष्पक्ष छानबिन र कमिटी पुनर्गठनको माग गर्दै एमाले जिल्ला नेतृत्वलाई ध्यानाकर्षण पत्र


  • ढाेरपाटन संवाददाता
  • साउन १९ २०८३, मंगलबार

पोखरा/  अनेरास्ववियु कास्कीको हालै सम्पन्न २४ औँ जिल्ला अधिवेशनमा गम्भीर प्रक्रियागत तथा संगठनात्मक त्रुटि भएको भन्दै निष्पक्ष छानबिन र जिल्ला कमिटी पुनर्गठनको मागसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्कीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । अनेरास्ववियु कास्कीका निवर्तमान सचिव रवि क्षेत्रीले एमाले जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलाई सो पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा अधिवेशनका क्रममा अध्यक्षमण्डलको औपचारिक निर्णय र घोषणाबिनै लेखा आयोगका अध्यक्षबाट एकल रूपमा जिल्ला कमिटी घोषणा गरिएको तथा अध्यक्षमण्डलका सबै सदस्यहरूको सहमतिविना परिणाम सार्वजनिक गरी वैधानिकतामाथि प्रश्न उठाइएको उल्लेख छ । त्यसैगरी, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दा जिल्ला कोषाध्यक्षलाई नै अनुपस्थित गराई जिल्ला अध्यक्षको हस्ताक्षरमा प्रतिवेदन पेस गरिएको र सोमाथि विधिवत् छलफल तथा अनुमोदन नै नगरी बन्दसत्र अगाडि बढाइएको आरोप लगाइएको छ ।

त्यस्तै पदाधिकारी चयनमा सांगठनिक मापदण्ड र योग्यताको बेवास्ता गर्दै अध्यक्षमण्डलको निर्णय एवं सहमतिलाई कार्यान्वयन नगरिएको जनाइएको छ । प्रतिकूल स्थितिमा सार्वजनिक रूपमा संगठनबाट अलग भएको घोषणा गरेका तथा सामाजिक सञ्जालमार्फत राजीनामा दिएका व्यक्तिहरूलाई आवश्यक राजनीतिक समीक्षा र प्रक्रियाबिनै नेतृत्वको जिम्मेवारी प्रदान गरिएको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैगरी बन्दसत्रमा गणपूरक संख्या सम्बन्धी विवाद, प्रतिनिधि व्यवस्थापनमा निष्पक्षताको कमी तथा निर्वाचन प्रक्रियालाई छाडेर सर्वसम्मति र वैधानिक प्रक्रिया बाहिर गई कमिटी घोषणा गरिएको पत्रमा उल्लेख छ । अधिवेशन सञ्चालनका सम्पूर्ण निर्णय, प्रतिनिधि प्रमाणीकरण, आर्थिक प्रतिवेदन तथा अन्तिम निर्णयहरूको आधिकारिक अभिलेख समयमै उपलब्ध नगराउँदा निर्णय प्रक्रियाको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठेको क्षेत्रीले बताएका छन् ।

निवर्तमान सचिव क्षेत्रीले संगठनको विधि, विधान, पारदर्शिता र मर्यादा संरक्षणका लागि यो कदम चालिएको स्पष्ट पार्दै सम्बन्धित सबै पक्षसँग स्पष्टीकरण लिई निष्पक्ष छानबिन गर्न माग गरेका हुन् । प्रक्रियागत त्रुटि र अनियमितता पुष्टि भएमा संगठनको प्रतिष्ठा जोगाउन आवश्यक सुधार, पुर्नसमीक्षा वा पुनर्गठन गरी कार्यकर्तामा न्यायको अनुभूति दिलाउन आग्रह गरिएको छ । सो निवेदनको बोधार्थ अनेरास्ववियु गण्डकी प्रदेश कमिटी, केन्द्रीय कमिटी, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगलाई समेत दिइएको छ।

यही साउन १४ गते सम्पन्न अनेरास्ववियु जिल्ला कमिटी कास्कीको २४ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष भोलानाथ पराजुली (एलेक्स भोला) को नेतृत्वमा १७ सदस्यीय नयाँ कमिटी चयन गरेको थियो ।

सर्वसम्मत अध्यक्ष घोषणा गरिएका भोलानाथ पराजुली (एलेक्स भोला) ।

कमिटीको उपाध्यक्षमा विजय अधिकारी, सुदर्शन तामाङ, एलिसा भट्टराई चुनिएका थिए । यसैगरी सचिव धर्मराज आचार्य (शेखर), कोषाध्यक्ष विवेक लामिछाने र सहसचिवमा दीपेश पौडेल, नर्मता दाहाल, राजेन्द्र आचार्यलाई चुनिएको थियो । कमिटीको सदस्यमा पुकार, पौडेल, आरती भण्डारी, अग्रसर लामिछाने, आशिष पाण्डे, सिद्धान्त बोटे, विजल न्यौपाने, सन्दिप दाहाल, निशान थापा छन् ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष विकास श्रेष्ठले उद्घाटन गरेको अधिवेशनमा अनेरास्ववियुका पूर्व उपाध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य रश्मी आचार्य, एमाले जिल्ला कमिटी कास्कीका सचिव दर्शन लामा, एमाले पोखरा महानगरपालिका कमिटीका पूर्व अध्यक्ष दिलिप न्यौपाने, अनेरास्ववियुका केन्द्रीय लेखा आयोगका अध्यक्ष अन्जली लम्साल लगायतले बोलेका थिए । ‘देशभरका सम्पूर्ण प्रगतिशील, देशभक्त र जनवादी विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नाराका साथ भएको अधिवेशनका ६५ जना प्रतिनिधिले भाग लिएका थिए ।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले अनेरास्ववियूको अधिवेशनमा केही प्रक्रियागत त्रुटी रहेको र त्यो ठूलो इस्यू नभएको बताए । ‘अधिवेशनमा केही विधि पुगेको छैन’, अध्यक्ष क्षेत्रीले भने, ‘त्यसलाई मिलाउनु पर्छ । बसेर छलफल गर्दैछौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->