पोखरा/नेपाल पर्यटन बोर्ड निजी क्षेत्रमैत्री हुनुपर्ने भन्दै महिला पर्यटन व्यवसायीले ध्यानाकर्षण गराएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीले नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेलसँग यस्तो एजेन्डा राखेका हुन् ।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा ओेटेफका प्रतिनिधिहरुले पोखरा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउनेतर्फ ध्यान दिनुपर्ने र अव्यवस्थित पार्किङको समस्यालाई दीर्घकालीन समाधान गर्नुका साथै फेवाताको संरक्षणसँगै सौन्दर्यीकरणमा ध्यान दिन सुझाव दिए । ओटेफ अध्यक्ष ममता न्यौपानेले नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेललाई पोखरामा स्वागत गर्दै निजी क्षेत्रलाई समेट्ने गरी नीति तथा योजना ल्याउन आग्रह गरिन् ।
पोखरेलको नियुक्तिले पर्यटन व्यवसायी उत्साहित भएको बताउँदै उनले पोखरेलीको अपनत्व लिनेगरी समग्र पर्यटन क्षेत्रको प्रवद्धनमा लाग्न सुझाइन् । अध्यक्ष न्यौपानेले महिला पर्यटन व्यवसायीका लागि आवश्यक तालिम सञ्चालनमा बोर्डले सघाउनुपर्नेमा जोड दिइन् । संस्थाकी सल्लाहकार जमुना पराजुलीले पोखरामा धेरैभन्दा धेरै पर्यटक भिœयाउन अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम गर्न आवश्यक रहेको बताइन् ।
पोखराबाट दुबई उडान हुन लागेकाले त्यसलाई दीर्घकालसम्म रुपमा निरन्तरता दिन सरकारी तहबाट नै पहल गरिनुपर्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
सबै पर्यटन सम्बद्ध संघ, संस्थाबीच एकीकृत प्रयास आवश्यक हुने उनले औंल्याए । पोखरेलले पर्यटन व्यवसायीले देखाएको अपनत्वले थप जिम्मेवार बनाएको बताए । पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकताका साथ उठाउने उनको भनाइ थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटकको संख्या कसरी र कुन ठाउँबाट राख्न सकिन्छ भनी छलफल अघि बढिसकेको बताए । पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोडको व्यवस्थासमेत गरिन लागेको बताए ।





