पोखरा/फिर्केखोला अतिक्रमण हटाउन ढिलाइ भएको भन्दै जनस्तरबाट आलोचना भएका बेला पोखरा महानगरले भदौ १५ गतेभित्र सबै संरचना हटाउन सूचना जारी गरेको छ । महानगरको करिब बीच भागबाट बग्ने फिर्केको बहाव क्षेत्र (खोलाघर) अतिक्रमण गरी बनाइएका संरचना भदौ १५ गतेभित्र हटाउन महानगरले बुधबार सूचना जारी गरेको हो ।
खोलाकै बहाव क्षेत्रमा रहेका १ सय ६० संरचनामा संकेतिक डोजर चलाई बाँकी संरचना आफैं हटाउन महानगरले घर÷जग्गाधनीलाई भनेको थियो । महानगरको अनुरोध स्थानीयले वेवास्ता गरेपछि अहिले संरचना हटाउन सूचना जारी भएको हो । पोखराको अँधेरीकुनादेखि फेवातालसम्म करिब ८ किलोमिटर लामो फिर्के खोलामा बनेका संरचनाहरु हटाएर फिर्के करिडोर बनाउने योजना छ ।
महानगरका मेयर धनराज आचार्यले तोकिएको समयभित्र संरचना हटाउन अनुरोध गरे । उनले भने, ‘तोकिएको मितिभित्र नहटाए महानगरले प्रचलित कानुनबमोजिम हटाउँछ र लाग्ने सम्पूर्ण खर्च सरकारी बाँकीसरह सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिन्छ ।’ मेयर आचार्यको अध्यक्षतामा फिर्केको बहाव क्षेत्रका ८ वटा वडाका वडाध्यक्षसहितको बैठकले खोलाघर भित्रको पछिल्लो अवस्था सात दिनभित्र अध्ययन गर्ने र प्रतिवेदन पेश गर्ने निर्णयसमेत गरेको छ ।
महानगरले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘यसअघि खोला घरभित्र बनेका संरचनाहरू आफैं हटाउने भनी महानगरसमक्ष मौखिक सहमति गरेका तर हालसम्म संरचना नहटाएका व्यक्ति वा संस्थाले भदौ १५ गतेभित्र अनिवार्य रूपमा हटाउनुहुन महानगरपालिका पुनः सूचित गर्दछ । अन्यथा महानगरले प्रचलित कानुनबमोजिम ती संरचना हटाई सो बापत लाग्ने सम्पूर्ण खर्च सरकारी बाँकी सरह सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेछ ।’
असोज १ गतेदेखि कोरिडोर निर्माणसम्बन्धी प्राविधिकसहित अरु काम थालिने भएको छ । फिर्केमा ५८ वटा संरचना अझै पूर्ण रुपमा भत्काउन बाँकी छन् । २९ वटा संरचना घरधनी आफैंले भत्काउन सुरु गरिसकेका छन् । २२ वटा संरचनामा कुनै काम भएको छैन । २५ वटा स्थायी र २६ वटा अस्थाई संरचनासमेत हटाउन बाँकी छन् । ३३ वटा हटाइएको छ भने ५ वटा कम्पाउन्ड वाल भत्काउन बाँकी छ ।
महानगरले २०८० साउन–भदौमा फिर्के खोलाको नापजाँच गरी ५ सय ८८ वटा सीमा स्तम्भ गाडेको थियो । नापजाँचका क्रममा खोला क्षेत्रभित्र सार्वजनिक जमिन मिचेर १ सय ६० भन्दा बढी स्थायी तथा अस्थायी संरचनाहरू बनेको पाइएको थियो ।




