बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अध्यक्षमा ४ जनाको चर्चा

अध्यक्षमा ४ जनाको चर्चा

आगामी भदौ २० र २१ गते हुने संघको महाधिवेशनमा नेतृत्व चयनका लागि जोडघटाउ सुरु


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८३, बिहिबार

पोखरा\पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन आउन १ महिना बाँकी हुँदा विभिन्न पदमा आकांक्षा गर्नेहरु सार्वजनिक हुँदै छ । संघको अध्यक्षमा चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् । संघको ३६ औं महाधिवेशन आगामी भदौ २० र २१ गते हुनेछ ।

महाधिवेशन तथा ७२ औं वार्षिक साधारणसभाको मिति तय भएसँगै नयाँ नेतृत्वको दाबेदारी प्रस्तुत हुन थालेको हो । संघको नेतृत्वका लागि हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले दाबेदारी प्रस्तुत गरेका छन् ।

३५ महाधिवेशनमा अध्यक्षमा पराजित अर्जुन पोखरेल फेरि नेतृत्वका लागि मैदानमा आउने चर्चा छ । अहिले विदेश रहेका उनी पोखरा फर्किएपछि तयारीमा लाग्ने उनी निकटहरु बताउँछन् । अध्यक्षमा चार जनाको दाबेदारीपछि सर्वसम्मत गर्ने प्रयास भइरहे पनि त्यसले सार्थकता पाएको छैन ।

अहिलेका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले आफ्नो अनुभवलाई नेतृत्वमा रहेर काम गर्दा उपयोग गर्ने मनाशायका साथ उम्मेदवारी घोषणा गरेको सुनाए । उनी लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यावसायिक संघ, संस्थामा सक्रिय छन् । अहिलेकी महासचिव शोभा गौतमले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

वर्तमान उपाध्यक्ष आचार्यले आफूले लामो समयदेखि विभिन्न पदको जिम्मेवारी वहन गर्दै आएकाले यस पटक अध्यक्षको स्वभाविक दाबेदार भएको बताउँछन् । आकांक्षीहरु बिच सहमतिको प्रयास भए पनि कोही पछि हट्न तयार छैनन् । ‘मेरो लामो कार्यकाल भएकाले यस पटक अध्यक्ष पदमा जान चाहेको हुँ’, आचार्यले भने । उनले विभिन्न संघ, संस्थामा आबद्ध हुँदा पाएको सफलताको अनुभव संघमा लगाउन चाहेको सुनाए ।

संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य र उपमहासचिव हुँदै महासचिवसम्मको अनुभव बटुलेकी गौतमले कामलाई प्राथमिकता दिने सुनाइन् । ‘जिम्मेवारीलाई अवसरका रूपमा होइन; सेवाका रूपमा ग्रहण गर्दै इमानदारी र निष्ठाका साथ काम गरेकी छु,’ उनले भनिन् । संघमा पहिलो पटक महिला नेतृत्वको इतिहास लेख्ने संघारमा आफू आइपुगेको उनको भनाइ छ ।

वर्तमान कोषाध्याक्ष मनोजकुमार श्रेष्ठले वाणिज्य उपाध्यक्षमा आकांक्षा देखाएका छन् । उद्योग उपाध्यक्ष दिनेशचन्द्र बास्तोला र युवा व्यवसायी सोवित पौडेलले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिने चर्चा छ । उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर र सौगात थापा र वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ र रामेश्वर अधिकारी मैदानमा उत्रिने चर्चा छ ।

उपमहासचिवमा रामचन्द्र तिमिल्सिना, प्रदीपराज भण्डारी, भीम गौतम र जीवनप्रकाश श्रेष्ठको चर्चा छ । महासचिवमा सुदीप प्रधानाङ, टीकाराम सुवेदी र तारानाथ ढुंगानाको नाम चर्चामा छ । कोषाध्यक्ष देवेन्सन प्रजु, जीवनप्रकाश श्रेष्ठ र विनोद केसीको नाम व्यवसायीहरुले लिने गरेका छन् ।

सदस्यहरूमा मनोहरि पौडेल, दूधमान गुरूङ, यादवप्रसाद पोखरेल, दुर्गा बराल, सूर्यराज घिमिरे, पृथ्वीराज तिमल्सिना, एकनारायण गौतम, नवीन नापित, अमृत पोखरेल, प्रेम सुवेदी, भवसागर बराल लगायतले आकांक्षा सार्वजनिक गरेका छन् । संघमा २ हजार ५ सय हाराहारी सदस्य छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->