पोखरा\पोखराको सिद्धार्थचोक नजिक रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि आइतबारसम्म विविध कार्यक्रमसहित मेला गर्न लागेको जानकारी दिएको हो ।
मलले वार्षिकोत्सवलाई लक्षित गर्दै ग्राहकका लागि विशेष छुट, उपहार योजना तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने छ । कार्यक्रममा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका खानाका परिकार, चर्चित कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।
पोखराको व्यापारिक केन्द्रका रूपमा स्थापित मलमा लत्ताकपडा, कस्मेटिक्स, इलेक्ट्रोनिक्स सामग्री लगायतका पसल छन् । साथै, मल्टिप्लेक्स सिनेमा हल, रेस्टुरेन्ट, फुड कोर्ट, जिम, सैलुन तथा ब्युटी पार्लर जस्ता सेवासमेत उपलब्ध रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिका अध्यक्ष दीपककुमार मुल्मीले बताए ।
२०७२ सालदेखि सञ्चालनमा आएको यो व्यापारिक केन्द्रमा ४ सयभन्दा बढी व्यवसायिक सटर छन् । उत्सवले स्थानीय व्यापार प्रवद्र्धन, आर्थिक गतिविधि चलायमान बनाउने तथा आन्तरिक र बाह्य पर्यटनमा समेत टेवा पुग्ने मुल्मीले बताए । वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग तथा छात्रवृत्ति वितरण जस्ता कार्यक्रमसमेत हुने छन् ।





